सरकार, सेना र अदालतमाथि आक्रमण बढ्यो: रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पछिल्ला दिनमा सरकार, सेना र अदालतप्रति नकारात्मक भाष्यहरु सम्प्रेषण गर्ने प्रवृति बढेको बताएका छन् । उपप्रधानमन्त्री खड्काले शुक्रबार राष्ट्रिय सभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा सो कुरा बताएका हुन् ।

‘पछिल्ला दिनहरुका सरकार, सेना र अदालतप्रति नकारात्मक भाष्यहरु सम्प्रेषण गर्ने प्रवृति केही बढेको छ’ उनले भने, ‘सरकार, सेना र अदालतलाई आक्रमण गरेर, तथ्यहीन सूचना र समाचार सम्पेषण गरेर मात्र विकास हुने होइन जस्तो लाग्दछ ।’ तर, आफूले सरकारी निकायमा समस्या नरहेको भनी जिकिर नगरेको पनि उनले बताए ।

मन्त्री खड्काले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउने व्यक्ति वा एजेन्सीलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । उनले नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई सरकारले निरुत्साहित गर्ने पनि बताए ।

उपप्रधानमन्त्री खड्काले स्वदेश तथा विदेशमा रोजगारीको छनोट गरी जाने अधिकार नेपालको संविधानले प्रत्येक नागरिकलाई दिएपनि उनीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको स्पष्ट पारे । उनले प्रत्येक नागरिकको सुरक्षा राज्यको कर्तव्य भएकाले सुरक्षाको दृष्टिले जोखिम रहेका पेशा वा व्यवसाय गर्न वा त्यस्ता क्षेत्रमा जाने कुरालाई निरुत्साहित गर्न सरकार सचेत रहेको पनि दोहो¥याए ।

उपप्रधानमन्त्री खड्काले भने, ‘प्रत्येक नागरिकको सुरक्षा राज्यको कर्तव्य भएकाले सुरक्षाको दृष्टिले जोखिम रहेका पेशा वा व्यवसाय गर्न वा त्यस्ता क्षेत्रमा जाने कुरालाई निरुत्साहित गर्न जरुरी छ । त्यसतर्फ सरकार सचेत छ ।

त्यसैले नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई निरुत्साहित गर्ने तथा यस कार्यमा सघाउने व्यक्ति, एजेन्सीलाई कानूनी कारबाहीको दायरामा ल्याउने कुरामा सरकार क्रियाशील रहेको कुरा म जानकारी गराउन चाहन्छु ।’

उपप्रधानमन्त्री खड्काले हेटौँडा कपडा उद्योग नेपाली सेनाले सञ्चालन गर्ने बारेमा छलफल भएपनि निष्कर्षमा पुगि नसकिएको बताए । नेपाली सेनालाई कपडामा आत्मनिर्भर बनाउनका लागि सो विषयमा छलफल भइरहेको उनको स्पष्टीकरण थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर