
गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन


वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उहाँको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो ।
वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए। अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो ।
आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिनुभएको छ ।
गायक आचार्यको पार्थिव शरीरलाई मङ्गलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने सङ्गीतकार सापकोटाले बताए ।
गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशिल छन् ।
प्रतिक्रिया