थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पेरोलमा रिहा

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको ६ महिनापछि आइतबार पेरोलमा रिहा भएका छन् ।

पेरोल कैदीहरू व्यावहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो । शर्तहरू पालना नभएको अवस्थामा उनीहरूलाई पुनः पक्राउ गरी जेलमा फिर्ता गर्न सकिन्छ । एक वर्षको जेल सजायको ६ महिना बिताएपछि उनी रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

थाइल्याण्डकी प्रधानमन्त्री श्रेता थाभिसिनले यसअघि नै थाक्सिनलाई पेरोलमा रिहा गर्नु कानुनसम्मत हुने बताएका थिए । देशको कानुन तथा न्याय मन्त्रालयका अनुसार यसै महिना पेरोलका लागि स्वीकृत ९३० कैदीमध्ये ७४ वर्षीय पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुन् ।

थाइल्याण्डको कानुन अनुसार उनी ७० वर्षभन्दा बढी उमेर पुगेको र गम्भीर रोगबाट पीडित भएकोले पेरोलका लागि योग्य थिए ।

थाक्सिन १५ वर्षभन्दा लामो निर्वासन तोडेर गत वर्षको अगस्टमा थाइल्याण्ड फर्किएका थिए । उनलाई तत्काल हिरासतमा लिइएको थियो र विभिन्न अभियोगमा ८ वर्षको जेल सजाय सुनाइएको थियो ।

स्वदेश फर्केको केही समयपछि स्वास्थ्य समस्याका कारण उनलाई बैंककको जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो । गत सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले थाक्सिनको ८ वर्षको जेल सजाय घटाएर १ वर्ष कायम गरेका थिए ।

थाक्सिन सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको प्रधानमन्त्री थिए । तर सन् २००८ देखि उनी स्वनिर्वासनमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *