भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसकेका छन् । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पुर्यायो तर अपाङ्गता बनाएर फर्कायो । मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन्ज्युरी) लागेपछि उनलाई उठ्न–बस्न पनि सहारा चाहिने भयो । मुगुका सेजुवालले सुषमा कोइराला मेमोरियल अस्पतालको शैयामा गहभरि आँसु पार्दै भने, “अहिले उपचार गर्नै नसक्ने अवस्थामा छु । मृत्यु नै पर्खिरहेको छु, केही हुनेवाला छैन जस्तो लाग्छ ।”
उनको ढाडमा गहिरो चोट छ । त्यसैको उपचारका लागि उनी सुषमा कोइराला अस्पतालमा गत पुस २६ गते भर्ना भएका हुन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको आश्रयमा २०७० देखि बसिरहेका सेजुवाललाई अहिले उपचारका लागि आर्थिक अभाव हुने हो कि भन्ने चिन्ताले पिरोलेको छ । राज्यले प्रत्येक वर्ष बजेट दिने, अपाङ्गता, अशक्तदेखि दृष्टिविहीनसम्मको आश्रय रेखदेखका लागि खुलेको सङ्घमा राम्रै होला भन्ने उनलाई लागेको थियो ।
तर, उपचारका लागि सङ्घका पदाधिकारीले देखाएको अनुदार शैलीले उनलाई आहत पुगेको छ । एक महिनाभन्दा बढी अस्पताल बसाइमा उनका दुई लाख रुपियाँ खर्च भइसकेको छ । अपाङ्ग सङ्घका अध्यक्ष साम्देन लामाले उपचार खर्चको आधा रकम मात्रै सङ्घले बेहोर्ने बताएपछि उनको चिन्ता बढेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सङ्घमा अपाङ्गता भएका व्यक्तिको अवस्था हेरेर नै सरकारी कोटामा त्यहाँ बस्न पठाउने गरेको छ । सेजुवाल पनि सरकारी कोटामै परेर १० वर्षयता बसिरहेका छन्, तर अपाङ्गता भएका व्यक्तिलाई आउने बजेट र गर्नुपर्ने स्वास्थ्योपचार पनि आफूहरूले नपाएको उनको गुनासो छ ।
गत कात्तिकदेखि उपचाररत २८ वर्षीय चेतकुमारी तामाङको अवस्था पनि उस्तै छ । अस्पताल प्रशासनका अनुसार उनको शल्यक्रियासहित उपचारमा आठ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ तर अपाङ्ग सङ्घले अहिलेसम्म अस्पताललाई उपचारबापतको खर्च उपलब्ध गराएको छैन ।
पाराओलम्पिक एसियाली खेलाडी जेनिशा कडायतले खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिकमाथि चरम लापरबाही र शोषण भएको आरोप लगाए । उनले भने, “हामी कसरी बसेका छौँ, कसरी सहेका छौँ, त्यो त एक पटक आएर हेर्दा थाहा हुन्छ । मानवीय मूल्यको समेत वास्ता नगरी यहाँ राखिएको छ, व्यवस्थित गर्ने विषयमा कोही गम्भीर छैन ।”
नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रभित्रको बेथिति निकै गम्भीर रहेको सङ्घकै एक पदाधिकारी बताउँछन् । ती पदाधिकारीको दाबीलाई सङ्घको लेखापरीक्षण प्रतिवेदनले पनि पुष्टि गर्छ । सङ्घका शाखामध्ये सबैभन्दा बढी बजेट धनुषालाई दिइएको छ । आर्थिक वर्ष २०७९–८० मा नेपाल अपाङ्ग सङ्घ धनुषालाई १३ लाख रुपियाँ दिइएको छ । सङ्घको बाँके शाखालाई दुई लाख रुपियाँ, झापा शाखालाई दुई लाख रुपियाँ, कैलाली शाखालाई दुई लाख ६५ हजार रुपियाँ, काठमाडौँ शाखालाई एक लाख रुपियाँ र दाङ शाखालाई दुई लाख रुपियाँ बजेट दिइएको छ । जसमध्ये बाँके र काठमाडौँ शाखामा अपाङ्गता तथा अशक्त नागरिकको आश्रय केन्द्र नै छैन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया