
गृहमन्त्री श्रेष्ठलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न : रूससँग वार्ता गर्नसक्ने क्षमता छ की छैन ?


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कुटनैतिक पहल र संवान गर्नसक्ने क्षमता देखाउन नसकेको बताएका छन्।
आईतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई रूससँग वार्ता गर्नसक्ने सरकारको क्षमता छ की छैन भन्दै प्रश्न गरेका छन्।
उनले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुतालाई बोलाएर संवाद गर्नु बाहेकको पहल गर्न सकेको छ की, छैन ? भन्दै प्रश्न गरे।
उनले भने, ‘६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका थिए, सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाल मस्कोबाट। उनीहरु मस्कोको एयरपोर्टमा रसियन सैनिकको गिरफ्तारीमा परे। एक महिनाअघि उनीहरु रसियन सैनिकहरुबाट भागेर मस्को पुगेका थिए। दुतावास पुग्नुअघि पक्राउ परे। उनीहरुलाई फेरि लिएर गइयो र सैनिक सीमामा राखियो। करिव १६ सय किलोमिटर भागेर उनीहरुसँग दुतावासको सम्पर्क भयो। उहाँहरुले सम्पर्कमै आएकै साँझ विमानस्थल पु¥याउँदा उनीहरु पक्राउ परे। उनीहरु अहिले रसियन सैनिकको गिरफ्तारीमा छन्। उनीहरुको अवस्था के छ ? नेपाल सरकारलाई जानकारी छ की छैन। उनीहरुलाई उद्धार गर्ने सम्भावना के छ ? रसियन सैनिकमा नेपालले अनुमति नदिकन, रसिया र युक्रेनबीचको वार आफ्नो ठाउँमा छ। जसको अन्त्य होस् भन्ने हामी कामना गर्दछौँ। तर युद्धसँग असम्बन्धित देशका मानिसहरु नेपाल सरकारले अनुमति नदिकन यहाँबाट मानव तस्कर गरेर लैजानेहरुको सञ्जाल तोड्नका लागि नेपाल प्रहरीले काम गरिरहेको छ। यताबाट तोड्नुपर्ने कुरासँगै उताबाट जोडेर ल्याउनुपर्ने कुरामा नेपाल सरकार छ ? सरकारको कुनै न कुनै सम्पर्क भइरहेको, दुतावासको दुतलाई बोलाएर कुरा गरेको भन्दा बाहेक हाम्रो कुटनैतिक पहल, सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ की छैन ? जम्मा यकिन संख्या कति छ ? सरकार छ भन्ने महशुस गराउन सरकारले रसियामा गएर सैनिक भइ बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्छ।’
प्रतिक्रिया