आइपिओ निकालेको प्रथम वर्षमै हिमालयन रिइन्स्योरेन्स लिमिटेडले दिने भयो बोनस शेयर

हालै मात्र सर्वसाधारणमा शेयर जारी गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपिओको पहिलो वर्षमै ४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । माघ २५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरी फागुन २० गते हुने कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

यसका साथै नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुवै पुनर्बीमा कम्पनीलाई २०८१ साल माघ ३० भित्र चुक्ता पूँजी रु. २० अर्ब पु¥याउन निर्देशन दिएकाले कम्पनीले बोनस शेयर पछि हुने चुक्ता पूँजी रु. १० अर्ब ४० करोडको १०ः८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

कम्पनीको पुनर्बीमा शुल्क आम्दानी आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा ५३५ प्रतिशतले वृद्धि भई रु. ५४६ करोड पुगेको छ भने कम्पनीको खूद नाफा आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा १२२ प्रतिशतले वृद्धि भई रु. ६५ करोड पुगेको छ । कम्पनीले हालैमात्र भारतबाट पुनर्बीमा व्यवसाय भित्र्याउन भारतको बीमा सम्बन्धी नियामकीय निकायबाट स्वीकृति पाएको थियो भने विश्वविख्यात रेटिङ्ग एजेन्सी एमबेष्ट प्राइभेट लिमिटेडले कम्पनीको रेटिङ्ग बी वा बी प्लसमा स्तरोन्नती गरिदिएको थियो ।

नेपालको निजी क्षेत्रबाट प्रवद्धित पहिलो पुनर्बीमा कम्पनीले हासिल गरेको एक पछि अर्काे सफलताले कम्पनीको आगामी दिनमा सफलताको थप खुड्किलाहरु पार गर्दै दक्षिण क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनीको रुपमा आफूलाई उभ्याउने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले २० फागुनमा हुने तेश्रो वार्षिक साधारण सभाको लागि ७ फागुनमा भनिएको बुक क्लोज हकप्रद शेयरको हकमा पनि लागू हुने भनी सर्वसाधारणको बुझाई रहेकोले उक्त बुक क्लोज मिति बोनस शेयर वितरण प्रयोजनको लागि मात्र भएको र हकप्रद शेयरको हकमा कम्पनीको वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भए पश्चात नियमनकारी निकायको स्वीकृति पछि मात्र बुक क्लोज मिति तोक्ने व्यहोरा सबैको जानकारीको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *