अझै किन विद्यालय बाहिर आठ लाख बालबालिका ?
चालु शैक्षिक सत्रमा काठमाडौं बाफलस्थित ज्ञानोदय मावि कक्षा ३ मा भर्ना भएका एक छात्रले बीचमै पढाइ छाडे। यसैगरी कक्षा ५ मा अध्ययनरत अर्का छात्र पनि शैक्षिक सत्रको बीचमै स्कुल आउन छाडे। प्रधानाध्यापक विष्णु रिमालले अभिभावकसँग सोधपुछ गरिन्।
सोधपुछ गर्दा आर्थिक अवस्था कमजोर भएका अभिभावकले घर खर्च जुटाउन स्कुल छुटाएर वसन्तपुरमा बोतलको पानी बेच्न पठाएको रहस्य खुलेको उनले बताइन्। कमजोर आर्थिक अवस्थाका अभिभावकका बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गर्छन्।
‘विद्यालयमा भर्ना भएका बालबालिकाको घरमा रोजीरोटी जुटाउन चुनौती छ। अभिभावकले बालबालिकालाई शिक्षा लिनभन्दा पनि घर खर्च जुटाउन कमाउन पठाउनु हुँदोरहेछ। सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन नसक्नुको मुख्य समस्या नै उनीहरूको घरको आर्थिक र पारिवारिक अवस्था कमजोर हुनु हो,’ प्रधानाध्यापक रिमालले भनिन्, ‘यति मात्र होइन, आमा भए बाबु नहुने र बाबु भए आमा नहुने समस्याले पनि बालबालिका मजदुरी गर्न बाध्य हुने रहेछन्। बाबुले अर्की पत्नी ल्याएपछि मानसिक तनावमा परेर पनि बच्चाहरू स्कुल आउन नचाहेको पाइएको छ।’ उनका अनुसार कमजोर आर्थिक र पारिवारिक अवस्थाका बालबालिका स्कुल आउन चाहँदैनन् र अभिभावकमा पनि स्कुलभन्दा कमाउन पठाउने प्रवृत्ति देखिन्छ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार देशमा विद्यालय जाने उमेर समूहका ४ देखि १७ वर्षसम्मका ७५ लाख बालबालिका छन्। जसमध्ये आठ लाख ५३ हजार बालबालिका विद्यालयबाहिर छन्। अर्थात् ११.३ प्रतिशत बालबालिका विद्यालय जान पाएका छैनन्। किन त? शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकाल आर्थिक, सामाजिक, पारिवारिक र भौगोलिक हिसाबमा कठिन समूहका बालबालिका अझै विद्यालय जाने अवस्था नबनेको अध्ययनले देखाएको बताउँछन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्र र युनिसेफले विद्यालयबाहिर रहेका बालबालिकाको अवस्थाबारे हालै गरेको एक अध्ययनले नेपालमा विद्यालय जाने उमेर समूहभित्रका ११.३ प्रतिशत अर्थात् साढे आठ लाख बालबालिका निकै कठिन समूहका रहेको देखाएको छ। उनीहरू अभिभावकको कमजोर आर्थिक अवस्था, पारिवारिक र सामाजिक परिस्थिति, भौगोलिक कठिनाइजस्ता कारणले विद्यालय जान नचाहेको अध्ययनबाट पाइएको छ। याे समाचार आजकाे नागरिक दैनिकमा छ ।
प्रतिक्रिया