धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार, सांसद्‍हरूको आफ्नै तयारी

सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु भयो। प्रतिनिधि सभाको आगामी बैठक बुधवार बस्नेगरी बोलाइएको छ। भोलिको बैठकमा दलका शिर्ष नेताहरुले बोल्ने सम्भावित कार्यसूचि रहेको छ। विधेयक अधिवेशनको रुपमा रहेको यस हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार दुवै छन्।

किनभने संविधान कार्यान्वयनसँग जोडिएका कयौँ विधेयकहरु पारित हुन सकेका छैनन्। यस अधिवेशनमा प्रश्तुत हुनका लागि सांसदहरुले पनि आ–आफ्नो प्रकारको तयारी गरिरहेका छन्। यस अधिवेशनमा के–कस्ता विषयहरु उठाउने योजना सांसदहरुले बनाइरहेका छन् त?

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले विकास निर्माणका कामहरु अस्तव्यस्त भएको र सुशासन कायम हुन नसकेको भन्दै यसतर्फ आफूले आवाज उठाउने बताए।

उनले भने, ‘सम्पूर्ण विकास निर्माणका काम अस्तव्यस्त छ। सुशासनको क्षेत्रमा भन्नुहुन्छ भने ९९ वर्षलाई पुरातात्विक क्षेत्र नै कुनै व्यक्तिका नाममा दिने सम्मका षड्यन्त्र भएका छन्। देशको सम्पती लुट्ने काम भएको छ। सरकार यति धेरै लुटमा उत्रियो कि सरकारले लुटहरुलाई संरक्षण गर्ने मात्रै होइन आफैँ संलग्न भएर लुटमा आएको छ। त्यसो भएको हुनाले देशको रक्षाको लागि पनि हामी बोल्नुपर्ने छ। हाम्रो राष्ट्रिय हितका सवालहरु अहिले असाध्यै ओझेलमा परेका छन्। हामी छिमेकीहरुसँग विभिन्न राष्ट्रहरुसँग राष्ट्रिय हित विपरित सम्झौता गर्दै अगाडी बढेका छौँ। यस कुरालाई पनि सघन ढंगले उठाउँछौँ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस अधिवेशनमा कानूनहरु बनाउनका लागि आफ्नो विशेष भुमिका रहने बताए।

उनले भने,‘विगतमा चाहेर पनि हामीले राजनीतिक पार्टीको हिसावमा, संविधानमा व्यवस्था भएका कुराहरु, जनतालाई अधिकार सम्पन्न बनाउने कुरामा हामीले चाहेर पनि सरकारका कारणले धेरै विधेयक आउन सकेन। यद्यपी हामीले सधैँ प्रयास ग¥यौँ। त्यो खालको पहलकदमी हामीले लियौँ। विधेयक थोरै आयो। तर राष्ट्रिय स्वतन्त्र पार्टीको भुमिका महत्वपूर्ण थियो। यो अधिवेशनमा अझ विशेषगरी हामी एकातिर कानून बनाउने, त्यसमा विशेष भुमिका खेल्ने। अर्कोकुरो दिनानुदिन जनताको जीवनसँग जोडिएका कुराहरु, महंगीलगायतका यावत कुराहरुमा हामी एकदमै राम्रोसँग पहरेदारी गर्नेछौँ।’

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदमा जलवायु परिवर्तनका असरहरुको सम्बन्धमा कुरा उठाउने तयारी रहेको बताए।

उनले भने,‘पार्टीले निर्णय गरेको कुरा पनि उठाउने। अहिले जलवायु परिवर्तनको कुराहरु उठाउनु जरुरी छ। जलवायु परिवर्तनले गर्दा मधेसमा पानीको सतह सय फिटमा थियो। अहिले चारसय फिटमा पनि पानी पाइरहेको छैन। यो सबै जलवायु परिवर्तनको कारण हो। चुरे संरक्षण भइरहेको छैन। भुमाफियाहरुको चलखेल भइरहेको छ। त्यसको मुद्दा उठाउने। हिमाल पग्लिरहेको छ। यस्तो मुद्दा उठाउने।’

नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले जनताको पक्षमा कानून बनाउन भुमिका निर्वाह गर्ने बताए।

उनले भने,‘विधेयकको छलफलमा भाग लिने। आफ्नो र पार्टीको कुरा राख्ने। जनताको पक्षमा संशोधन गर्नुपर्छ भने संशोधन गर्ने। विधेयकलाई पास गरेर यो पटक धेरै भन्दा धेरै विधेयक पारित गर्ने लक्ष्य र फुर्तिका साथ जनताले महशुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मान्यताका साथ हामी अघि बढ्छौँ।’

सांसदहरुले आकस्मिक, शून्य र विशेष समयहरुमा जनताको जनजीविकामा परेका समस्याहरु, राष्ट्रिय राजनीतिका विषयमा लगायत समसामयिक विषयमा आवाज उठाएर सरोकारवाला पक्षलाई घच्घच्याउने पनि बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *