अर्थ मन्त्रालयका ७ सहसचिवको सरुवा, को कहाँ ?

अर्थ मन्त्रालयका सात सहसचिवको कार्यभार हेरफेर गरिएको छ । शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका महानिर्देशकसहित सात सहसचिवको कार्यभार हेरफेर गरेका हुन् ।

विभागका महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर मन्त्री महतले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख भूपाल बराललाई सो जिम्मेवारी दिएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, मैनालीलाई मन्त्री महतले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा नै फर्काइदिएका छन् । विभागको महानिर्देशक हुनुअघि मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख थिए । उनलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

मन्त्री महतले सेवन्तक पोखरेललाई भन्सार विभागबाट विमानस्थल भन्सार कार्यालय, नारायण रिजाललाई बराल प्रमुख रहेको महाशाखाको जिम्मेवारी दिएका छन् ।

महेश आचार्यलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखाबाट अर्थकै आर्थिक नीति विश्लेषण महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख रहेका टोकराज पाण्डेलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखा र टंकप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागबाट भन्सार विभागमा लगिएको छ ।

मन्त्री महतले चार उपसचिवको पनि सरुवा गरेका छन् । स्रोतका अनुसार, उपसचिव बुद्धिप्रसाद आचार्यलाई अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व कार्यालय धरानको कामु कर अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रमोदकुमार श्रीवास्तवलाई आन्तरिक राजस्व कार्यालय पोखराबाट बागलुङ, आन्तरिक राजस्व कार्यालय डडेलधुराका कामु कर अधिकृत वासुदेव पौडेललाई अर्थ मन्त्रालयमा ल्याइएको छ । कृष्णप्रसाद मौनजालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *