आइसीसी यू–१९ विश्वकप : नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित
आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
दक्षिण अफ्रिकाको मनगंग ओभलमा आज(बुधबार) भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।
नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५ दशमलव २ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
बंगलादेशको जितमा अरिफुल इस्लामले अविजित ५९ रन बनाए । उनले ३८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । जिसान आलमले ४३ बलमा ६ चौका र दुई छक्कासहित ५५ रन थपे । असिकुर रहमानले १६, चोधुर मोहम्मद रिजवानले १५ र अहरार अमिनले १२ रन जोडे ।
नेपालका लागि पाँचै विकेट सुवास भण्डारीले लिए । आठ ओभर बलिङ गरेका सुवासले ४४ रन खर्चिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।
बंगलादेशविरुद्ध कमजोर देखिएको नेपाली ब्याटिङमा विशालविक्रम केसी र कप्तान देव खनालबाहेक अरुले उल्लेख्यनीय योगदान पुर्याउन सकेनन् ।
नेपालको लागि विशालले ४८, सुवास भण्डारीले १८ र ओपनर अर्जुन कुमालले १४ र दुर्गेश गुप्ताले नौ रन जोडेका थिए ।
नेपालका आकाश त्रिपाठी, गुल्सन झा, दीपक बोहरा र दीपेश कंडेल समान तीन रन जोडेर आउट भएका थिए । विपिन रावलले दुई रन थप्दा आकाश चन्द ‘गोल्डेन डक’ भए ।
नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।
यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।
नेपालले सुपर सिक्सको अर्को खेल भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।
प्रतिक्रिया