दाङका टीकारामले भैँसीपालनबाट कमाउँछन् मनग्य आम्दानी
दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुख्र्यौली पेसा भैँसीपालन हो ।
उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आएका छन् । परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लगेका उनले भैँसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय रु एक लाख ५० हजारसम्म मासिक आम्दानी गर्दै आइरहेका छन् ।
साना–ठूला गरेर ७२ भैँसीपालन गरिरहेका उनले दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको उनको भनाइ छ । उनले भने, “हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु ।” ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनले बताए ।
उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताए । घरका अन्य सदस्यले पनि काममा साथ दिएको उनले बताए । विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उनले बताए । उनीसँग वैदेशिक रोजगारको समेत अनुभव छ ।
उनले भने, “विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा रु ६०–७० हजारसम्म कमाई हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भैँसी बढाएर पाल्दै आएको छु । आम्दानी पनि राम्रै भइरहेको छ ।” दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी रकम नाफा हुने गरेको उनले बताए ।
भैँसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भने, “अहिलेसम्म जे–जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।” कतैबाट सहयोग प्राप्त नभए पनि आफ्नै मेहनतले पुख्र्यौली पेसालाई व्यवस्थित गर्दै लग्ने सोचमा रहेको उनले बताए ।
प्रतिक्रिया