धावनमार्ग ग्राभेल हुँदा चलेका विमानस्थल कालोपत्रेपछि भए बन्द

सबै मौसममा नियमित उडान होस् भनेर विमानस्थलको स्तरोन्नति गरिन्छ । तर ग्राभेल हुँदा सञ्चालन हुने गरेका विमानस्थल धावन मार्ग स्तरोन्नति गरी कालोपत्रे बनाएपछि चाहिँ सञ्चालन भएका छैनन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कालोपत्रे भएका ती विमानस्थलका धावनमार्ग ग्राभेल हुँदा जहाज उडान–अवतरण हुन्थ्यो । तर सडक यातायातको पहुँच, छोटो धावन मार्ग र साना जहाजको कमी र महँगो हवाई भाडाका कारण विमानस्थल उपयोगमा आउन सकेका छैनन् । प्राधिकरणको तथ्याङ्क अनुसार बागलुङको बलेवा विमानस्थलमा २०७३ चैत ९ गतेदेखि नगरपालिकाले १४ जना यात्रुको जिम्मा लिएपछि सुरु भएको उडान २०७४ कात्तिकपछि बन्द छ ।

द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी भएपछि २०५२ सालदेखि पूर्णरूपमा बन्द बैतडी विमानस्थलमा २०७७ असोज १७ गते परीक्षण उडान भएको थियो । परीक्षण उडान भएर पनि त्यहाँ २०७८ चैत १० यता उडान बन्द छ । सोही दिन परीक्षण उडान भएको डोटी विमानस्थलमा पनि परीक्षण उडानपछि केही उडान भए पनि हाल विमानस्थल बन्द छ ।

त्यस्तै लामीडाँडा विमानस्थलमा कालोपत्रे हुनुअघि उडान हुथ्यो । तर २०७८ सालदेखि उडान हुन सकेको छैन । मनाङमा पनि उडान नभएको एक दशकभन्दा बढी भइसकेको छ । डोल्पाको मसिनेचौर विमानस्थलमा पनि २०७४ यता उडान भएको छैन । त्यस्तै कालीकोटमा पनि धावनमार्ग कालोपत्रे भइसके पनि उडान सञ्चालन हुन सकेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *