शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल निर्माण

शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको रु पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक)मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ ।

अस्पताल निर्माणका लागि एमके विल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ । सम्झौताअनुसार अस्ताल भवनको तीन ब्लकमा निर्माणकार्य भइरहेको छ । पहिलो र दोस्रो ब्लकमा छत राख्ने कार्यसँगै चिनाइ,
प्लाष्टरलगायतको कार्य पूरा भएको छ भने तेस्रो ब्लकमा छत राख्नका लागि सटरिङको कार्य भइरहेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताए ।

इन्जिनियर धामीका अनुसार तीन वर्षअघिदेखि निर्माण अगाडि बढाइएको अस्पतालको हालसम्म ५५ प्रतिशत निर्माण पूरा भएको छ । “निर्माण व्यवसायीलाई कार्यप्रगतिका आधारमा हालसम्म रु दुई करोड ५० लाख रकम भुक्तानी गरेका छौँ”, इन्जिनियर धामीले भने, “असार मसान्तसम्म निर्माण पूरा गर्नेगरी म्याद थप गरिएको छ ।”

निर्धारित समयभित्रै अस्पताल भवन निर्माणकार्य पूरा गराउनका लागि कार्य भइरहेको उनको भनाइ छ । अस्पताल भवन मन्त्रालयको मापदण्डअनुरुप निर्माण भइरहेको उनको दाबी छ । भवनमा मुख्य द्वार, गार्डपोष्ट, शवगृह, दश शय्याको प्राथमिक अस्पताल वार्ड, बिरामी जाँच्ने कोठा, कार्यालय कक्ष, सभाकक्ष, शौचालय, स्नानघर, बिरामी उपचार कक्ष, शल्यक्रिया कक्षलगायत निर्माण हुने उनले जानकारी दिए ।

यसैगरी भवनसँगै ‘वाउड्री वाल, एम्बुलेन्स पार्किङ’स्थल, स्वास्थ्यकर्मी आवास, भूमिकगत पानीटयाङ्की, फोहर पानी प्रशोधन गर्ने ठाउँ, पार्क, पहुँचमार्गलगायत निर्माण गरिनेछन् । भवन पूर्णरूपमा भूकम्पप्रतिरोधी हुने इन्जिनियर धामीले बताए ।

अस्पताल निर्माण पूरा भएपछि यस क्षेत्रका बासिन्दाले उपचारका लागि टाढाको महेन्द्रनगर, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष कमल ठकुल्लाले बताए । अस्पतालमा सामान्य प्राथमिक उपचारदेखि शल्यक्रिया सेवासमेत उपलव्ध हुने भएकाले नगर क्षेत्रका बासिन्दाले सहजरूपमा सेवा पाउने उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *