फुटपाथ व्यवसायीले घोषणा गरे काठमाडौं महानगरविरूद्ध आन्दोलन

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते बृहत् सडक आन्दोलनसहित काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ ।

शुक्रवार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र बीचमा सबै फुटपाथ व्यवसायीहरूलाई एक ठाउँमा ल्याएर माघ २८ गते बृहत् सडक आन्दोलन गर्ने कार्यक्रम तय गरिएको बताएको हो ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्नका लागि माघ १७ गते जिल्ला प्रशासन कार्यलय,१८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालयमा र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए ।

उनले एक हप्ता सबै स्वरोजगार श्रमिकहरूलाई एक ठाउँमा ल्याएर माघ २८ गते थाल चम्चासहित ठूलो जनसहभागितामा सडक आन्दोलन तथा महानगर घेराउ गर्ने कार्यक्रम तय भएको बताए । उनले काठमाडौं महानगरपालिकाले फुटपाथ र साना व्यवसायीहरूको माग अहिलेसम्म सम्बोधन नगरेको कारण आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले महानगरले फुटपाथ व्यापारीहरूको जफत गरेका सामान फिर्ता गर्न माग गरे । उनले निम्नवर्गका व्यवसायीहरूको सामान कब्जा गरी लिलाम गर्ने कार्य महानगरले तत्काल रोक्नुपर्ने बताए ।

उनले स्वरोजगार श्रमिकका लागि वैकल्पिक कार्यस्थलको सुनिश्चित गरी महानगरभित्रका सबै वडामा सस्तो बजार व्यवस्था गर्न माग गरे । उनले वैकल्पिक व्यवस्था नगरेसम्म महानगरपालिकाले अहिले फुटपाथ व्यवसायीहरूले व्यवसाय गरिरहेको स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सुचारू गर्न दिन माग गरे ।

उनले महानगरपालिकाले स्वरोजगार व्यवसायीहरूलाई पञ्जिकरण गर्ने सम्झौता भए पनि कार्यान्वयन गर्नेभन्दा बढी व्यवसायीहरूलाई धरपकड गर्ने काम भएको बताए । फुटपाथ व्यापारीको उचित व्यवस्थापनका लागि मेयर तथा उपमेयरको संयोजकत्वमा संघर्ष समितिका प्रतिनिधिसहित उच्चस्तरीय व्यवस्थापन कार्यदल बनाउनुपर्ने उनको माग उनको माग छ ।

महानगरले फुटपाथ र साना व्यवसायीलाई निर्मम ढंगले लखेट्ने धरपकड गर्ने काम तत्काल रोक्नुपर्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरूङले बताइन् । उनले ७ बजेपछि सडकपेटीमा व्यापार गर्ने महिलाहरुलाई महानगर प्रहरीले अमानवीय व्यवहार गरी सामान लुट्ने गरेको बताइन् ।

उनले फुटपाथमा बेलुका दुई घण्टा व्यापार गरेर बिहान–बेलुकाको दुईछाक टार्ने निम्नवर्गका व्यापारीहरूलाई महानगरले अमानवीय व्यवहार गर्ने गरेको बताइन् । उनले फुटपाथ व्यवसायीहरूको समस्या समाधानका लागि भएका महानगरले गरेको ४ बुँदे सम्झौता कार्यान्वयनमा नगरेको आरोप लगाइन् ।

उनले महानगरपालिकाले कार्यदलमा फुटपाथ व्यवसायीलाई भुलाएर सडकमा व्यापारीहरूलाई धरपकड गर्ने काम गरेको आरोप लगाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *