हिमालयन रिइन्स्योरेन्सलाई विश्व प्रसिद्ध रेटिङ एजेन्सी ‘एएम बेष्ट’ को ‘बी प्लस’ रेटिङ
केही दिनअघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्काे ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी ‘एएम बेष्ट’ बाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकामा ‘बी’ बाट ‘बी प्लस’ रेटिङमा छलाङ मार्दै पुनः अर्काे इतिहास रचेको हो ।
नेपालजस्तो दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले ‘एएम बेष्ट’ बाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ ‘बी’ बाट ‘बी प्लस’ मा स्तरोन्नति गराउन सक्नु ठूलो उपलब्धि हो । ‘बी प्लस’ रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ ।
स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एशियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले ‘एएम बेष्ट’ बाट ‘बी प्लस’ रेटिङ प्राप्त गरेसँगै दक्षिणपूर्व एसिया, मध्यपूर्व, अफ्रिकी तथा युरोपेली प्रान्तहरूबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।
यसले कम्पनीको अन्तराष्ट्रिय पुनर्बीमा व्यवसायमा उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । यसबाट कम्पनीले राष्ट्रका लागि बहुमूल्य विदेशी विनियम आर्जन गर्न उदाहरणीय योगदान गर्नुका साथै नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा स्थापना गर्नसमेत टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया