बढ्दै छ विदेश जानेको लर्को, थपिँदै छ चुनौती
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका अनुसार सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली विदेशमा पुगेका छन् । अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार आठ लाखभन्दा बढी रोजगारीको लागि मात्रै विदेश गएका छन् भने अरू आठ लाख नेपालीहरू अध्ययन तथा अन्य प्रयोजनका लागि विदेश गएका हुन् ।
बर्सेनि यतिधेरै नेपालीहरू बिदेसिनुको कारण देशमा रोजगार नपाएर, आयआर्जन र जीविकोपार्जनको कुनै सम्भावना नै नदेखेर वा विदेश नगए घरव्यवहार नै चलाउन नसक्ने अवस्था आएर भने होइन ।
नेपालको स्थायी जागिर नै छोडेर, राम्रैसँग चलेको व्यापार व्यावसाय बन्द गरेर, पुर्खौंदेखि कमाउँदै आएको खेतबारी बाँझै छोडेर र आफ्नै गाउँघर र सदरमुकामका स्कुल कलेजमा पढेर ‘ए प्लस’ र ‘ए’ जीपीए ल्याउन सकेका युवायुवतीहरू पनि छोटो समयमा अझ धेरै पैसा कमाउने, छरछिमेकी र साथीभाइभन्दा धनी देखिने र विदेशमा गुणस्तरीय शिक्षा आर्जन गरी स्तरीय जिन्दगी बिताउने उच्च महत्त्वाकांक्षाका साथ बिदेसिने गरेको पाइएको छ ।
हाल अमेरिकामा रहेका म्याग्दीको मंगला गाउँपालिकाका विराज सापकोटाले विदेशमा आएपछि नेपालमा अवसर र सम्भावना नै नदेखेर आएँ भन्नु झुट बोल्नु हो भने । ‘आँट र जाँगर हुने हो भने नेपालमा सम्भाव नै सम्भावना छ । नदीको ढुंगा बालुवादेखि वनका झाडी र जटिबुटीसम्म पैसैपैसा छ । गाउँमा छँदा ती सम्भावनाहरूलाई पहिचान गर्न सकिएन, विदेश आएर पछुताउनु परेको छ,’ सापकोटाले भने ।
आफ्नो विगत र वर्तमानको अवस्था बुझाउँदै सापकोटाले भने, ‘नेपालमा मलाई राम्रै थियो, घर पाइक परेको शिक्षकको जागिर, परिवारसँग बसेर रमाइलैसँग दिनहरू बिताएको थिएँ,’ सापकोटाले थपे, ‘६४ लाख रूपैयाँ खर्च गरेर अमेरिका आएँ, यहाँ आएर तीन महिना हण्डर खाएपछि बल्ल काम पाएको छु । महिनाको साढे दुई लाख जति बच्छ, ऋणको ब्याज तिर्न ठीकै छ ।’
सापकोटाले तल्लोबाटो (गैरकानुनी बाटो) हुँदै अमेरिका आउनुभन्दा आफ्नै गाउँठाउँको सानो कमाइमा नै रमाउनु बढी बुद्धिमानी हुने बताए । विदेश सोचेजस्तो सजिलो नभएको बताउँदै सापकोटाले भने, ‘कानुनी रूपमा प्रक्रिया पुर्याएर यहाँ आएकाहरू पनि सन्तुष्ट छैनन् । फेसबुकमा समुद्र किनारमा डुलेको, कारमा घुमेको, रमाएको, मीठामीठा परिकारहरू खाएको, सफा अनि महँगा कपडाहरू लगाएको देखिए पनि वास्तविक जीवन भने सोचेभन्दा फरक छ ।’
क्यानडाको ब्रह्मापोटनको कलेजमा अध्ययनरत म्याग्दीकी अंकिता उपाध्यायले पछिल्लो समय (सन् २०२३ सेप्टेम्बरयता) क्यानडामा अध्ययनका लागि आएका विद्यार्थीहरू काम नपाएर घरबाट पैसा मगाएर खाने र कोठा भाडा तिर्ने बाध्यतामा रहेको बताइन् । ‘यहाँ सन् २०२३ यता आएका नेपालीहरूको बिजोग छ । एक वर्षको फीलगायत अन्य गरी २०/२५ लाख खर्च गरेर अध्ययन र कामका लागि यहाँ आएका नेपालीले कामै नपाएपछि अर्को सेमिस्टरको फी कसरी जम्मा गर्ने, कोठाभाडा कसरी तिर्ने र के खाने भन्ने समस्याले पिरोलिएका छन्,’ उनले भनिन्, ‘सजिलो छैन विदेश, हामीले दुःख पाए पनि अरूले नछोड्नुहोला आफ्नो देश ।’
त्यसैगरी हाल साउदी अरबमा रहेकासुजन मगरले जति राम्रो काम र आकर्षक तलब भनेर विदेश आए पनि म्यानपावर कम्पनीले भनेजस्तो केही नहुने गरेको बताए । ‘यहाँ १२ घण्टाको काम भए पनि १८ घण्टाको खटाइ हुन्छ, कम्पनीले भनेको जस्तोसुकै कुरा पनि मान्नै पर्छ, आफूले भनेको कुरा कसैले सुन्दैन, बिरामी भएको बेलामा समेत मेडिकलमा जाने छुट्टी पाइँदैन,’ मगरले भने, ‘सेफ्टिी इक्युप्मेन्ट सुरक्षित र भरपर्दो नहुने, एग्रिमेन्टको पालन नगरिने, कैयौं विषाक्त रसायन भएको ठाउँमा काम गर्नुपर्ने जस्ता कैयौं समस्यासँग जुधेर काम गर्दा पनि सम्झौताको कागजमा उल्लेख गरिएको पारिश्रमिक नपाउने जस्ता समस्या रहेका छन् ।’
अध्ययन होओस् वा रोजगारी जुनसुकै उद्देश्यले विदेश गए पनि त्यहाँ भनेजस्तो नभएपछि बल्ल नेपालको अवसर र सम्भावनालाई सम्झेर पछुताउनेहरू धेरै छन् । ‘विदेश जान पाए लाइफ बन्थ्यो भन्नेहरू विदेश आएर भनेजस्तो नभएपछि धुरूधुरू रोएको मैले देखेको छु,’ हाल अष्ट्रेलियामा रहेका प्रेम खत्रीले भने, ‘मैले यहाँ आएर बुझेँ, पढ्न सक्ने र गर्न सक्ने हो भने नेपालमा अवसरको कमी छैन । आफ्नो देशमा आफ्नै स्वाभिमान हुन्छ । इज्जत, मान, सम्मान सबै पाइन्छ । दुःख पर्दा आफन्तको साथ हुन्छ, साह्रोगाह्रोमा सहयोगी हात हुन्छन् । तर, विदेशमा यी सबै कुराहरू कल्पेर बस्नुबाहेक अरू केही पाइँदैन ।’
विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन र त्यसपछि प्राप्त राजनीतिक परिवर्तनले देशमा प्रशस्तै अवसर र सम्भावनाहरूको ढोका खोलेको भए पनि धेरै नेपालीले ती सम्भावना र अवसरहरूभन्दा उच्च महत्त्वाकांक्षा राख्दा र विदेश गए छिट्टै धनी बनिन्छ भन्ने बुझाइलाई महत्त्व दिँदा अहिलेको युवा पुस्ता देश छोडेर विदश उड्ने गरेको उनले बताए ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि योग्य व्यक्तिलाई अवसरको कुनै कमी नरहेको बताए । उनले भने, ‘विदेश गएर प्रशस्तै पैसा कमाउने र छिट्टै धनी बन्ने महत्त्वाकांक्षाले अहिलेका युवाहरूले देशमा सम्भावना छैन भनिरहेका छन् । तर, देशमै छन् प्रशस्तै सम्भावनाहरू । हामीले विदेश गएका युवाहरूले फेसबुकमा हालेका समुद्रका किनारमा रमाएका फोटा मात्र देख्छौं, उनीहरूले त्यहाँ भोग्नु परेका समस्या र बाध्यताहरूलाई देख्दैनौं । ती समस्या र बाध्यताहरू हामीले देख्यौं र बुझ्यौं भने विदेश जाने विषयमा हामी एक पटक गहिरिएर सोच्न बाध्य हुन्छौं ।’
नेपाली कांग्रेस म्याग्दीका नेता क्या. मीनबहादुर कार्कीको पनि समान धारणा छ । ‘देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दु्रत रूपमा भइरहेको विकास र उत्पन्न भएका आयआर्जनका अवसरहरूलाई हामीले प्राथमिकतामा राख्नै सकेनौं,’ कार्कीले भने, ‘राजनीतिक संकीर्णता हाबी हुँदै गयो, प्राप्त स्वतन्त्रताको सदुपयोगभन्दा दुरूपयोग गर्ने प्रवृत्ति बढ्दै गयो । युवा पुस्तामा छिटो धनी बन्ने र सुखसयलको जिन्दगी जिउने उच्च महत्त्वाकांक्षाका कारण देश छोडेर विदेश जाने क्रम बढ्दै गएको हो ।’
नेपालमा स्तरीय स्कुल/कलेजहरूको संख्या बढेको छ तर कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या घट्दै जाँदा स्नातक र स्नातकोत्तर तहका कलेजहरू खाली हुँदै गएका छन् । ‘विद्यालयहरूमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरूको अभाव उत्पन्न हुन थालेको छ । प्राविधिक शिक्षालयहरूमा निर्धारित कोटा पूरा हुन सकेका छैनन् । चिकित्सा शास्त्र र इन्जिनियरिङ कलेजहरूको अवस्था पनि यस्तै छ,’ केबी एकेडेमीका प्रिन्सिपल विमल शर्माले भने, ‘सरकारले शिक्षा क्षेत्रमा यतिधेरै लगानी गरेको छ । लोक सेवा आयोग र शिक्षा आयोगले बर्सेनि परीक्षा लिने र पदपूर्ति गर्न थालेको छ । तर, युवाहरू भने नेपालमा सम्भावना नै छैन भनेर विदेशतिर जाँदैछन्, यो देशका लागि पनि राम्रो संकेत होइन ।’
नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको एक तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै ४७ अर्ब ३५ करोड रूपैयाँ बिदेसिएको छ । बैंकका अनुसार चालु आव २०८०/८१ को पहिलो पाँच महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रूपैयाँ बिदेसिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रूपैयाँ बिदेसिएको हो । यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड रूपैयाँ बढी हो । गत वर्ष पाँच महिनामा शिक्षामा २८ अर्ब ८१ करोड रूपैयाँ बिदेसिएको थियो ।
यसरी बर्सेनि देशबाट जनशक्ति र सम्पत्ति दुवै बाहिरिने क्रम बढ्दै जानु देशकै लागि घातक भएको सरोकारवालाहरूको भनाइ रहेको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा देशमा भएका अवसर र सम्भावनाहरूलाई युवाहरूले चिन्नुपर्ने बताउँछन् । उनले भने, ‘अब देशमा अवसरको कमी छैन, उच्च महत्त्वाकांक्षा लिनुभन्दा पनि पूरा गर्न सक्ने सपना युवाहरूले देख्नुपर्छ । देशले दक्ष जनशक्ति मागेको छ, अब विदेश होइन आफ्नै गाउँठाउँलाई परिवर्तन गर्नेतर्फ युवाहरू लाग्नुपर्छ ।’
नियति देवकोटाकै मुनामदन खण्डकाव्यको कथानकजस्तै छ । फरक के छ भने मुनामदनमा धन कमाउन विदेश (भोट) गएका मदन बिरामी परेर बाटोमा नै ज्यान गुमाउन बाध्य हुन्छन् । मदनलाई एक जना भोटेले घरमा राख्छ, औषधिमूलो गर्छ । सकेसम्मको सहयोग गर्छ तर अहिले विदेशमा त्यस्ता मनकारी व्यक्तिहरू भेटिदैनन् । विदेश गएका कतिपयको काम गर्दागर्दै उपचार नपाएर मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार चालु आवको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीको क्रममा बिरामी तथा अंगभंग हुनेको संख्या दुई सय २१ रहेको छ । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको घटना बढेका हुन् । मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र घाइते हुने गरेका पाइएको छ ।
स्रोत : आईएनएस-स्वतन्त्र समाचार
प्रतिक्रिया