नेपाली क्रिकेटको विकास गर्न ग्रासरूट प्राथमिकतामा राख्नुपर्छ : पारस खड्का
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्वकप्तानसमेत रहेका पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन्। त्यसका लागि ग्रासरूट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
साथै पारसले क्यानसमक्ष धेरै चुनौतीहरू रहेको पनि बताए । नेपाली क्रिकेटका संरचनालाई बलियो बनाउनु काम गरिरहेको बताउँदै पूर्वक्रिकेटर पारसले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्नेसमेत विश्वास व्यक्त गरे ।
उनले खेलको जित मात्रै नभई क्रिकेट कल्चरलाई विकास गर्नुपर्ने धारणा राखेका छन् । थोरै लगानीबाट पनि नेपालले धेरै राम्रो गर्दै यहाँसम्म आइपुगेको उनको भनाइ छ । उनले विश्वभर बस्ने मानिसलाई खेलसँग जोड्न आवश्यक रहेको समेत औंल्याए ।
अर्का पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दासले अहिलेसम्म नेपालसँग राम्रो अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान नरहनु दुखद् पक्ष रहेको उल्लेख गर्दै एनआरएनएले खुला मनले सहयोग गरेमा नेपाली क्रिकेट उचाइमा पुग्न सहयोग मिल्ने धारणा राखे ।
सो कार्यक्रममा एनआरएनएले ट्वान्टी-२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको सहयोगको लागि क्यानलाई हौसलास्वरूप १० लाख रूपैयाँ सहयोग पनि गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले ट्वान्टी-२० विश्वकप क्रिकेट २०२४ मा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेका हुन् ।
क्यानका सचिव पारस, पूर्वकप्तान विनोद, क्यानका सदस्य सुदीप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो । एनआरएनएका सचिव पारसमणी पोखरेलले क्यानका सचिव खड्कालाई टोकन अफ लभ दिएका थिए ।
प्रतिक्रिया