६ लाख स्मार्ट लाइसेन्स आइपुग्यो नेपाल
काठमाडौं- यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ ।
विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए।
प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पुर्याएपछि आएको कार्डको ल्याब टेष्ट गराइन्छ ।
विभागले कार्ड पाउने बित्तिकै नियमित छपाइको सुरुआत हुने निर्देशक पनेरुले प्रतिबद्धता जनाए।
कार्डको अभावमा रोकिएको छ छपाइ
निर्देशक पनेरुका अनुसार हाल विभागसँग मौजुदा प्रिन्टर एउटामात्रै रहेको छ । जसको कार्यक्षमता १६ घण्टासम्म निरन्तर चलाउँदा पनि दैनिक चारदेखि पाँच हजारभन्दा बढी प्रिन्ट गर्न सक्दैन । उनले पहिलेकै कार्ड छपाई थुप्रै बाँकी रहेको भन्दै प्रत्येक दिन पाँच हजारभन्दा बढी निवेदन आउँने गरेका बताए।
पनेरुले सोही कारणले उक्त टेन्डर गरिएको भन्दै यो महत्वपूर्ण रहेको बताए । ‘दुई वटा मेसिनबाट कार्ड छाप्न थालियो भने नियमित प्रिन्ट पनि हुन्छ र पुरानो बाँकी पनि क्रमशः घट्दै जान्छ । त्यसका लागि ४१ करोडको हाराहारीमा हमीले टेन्डर आह्वान गरेका छौँ’, उनले भने, ‘अहिले काम भइरहेको छ टेन्डर मूल्यांकनको काम सकेपछि प्रस्ताव खोल्छौँ । सार्वजनिक खरिद ऐन नियमअनुसार यस कार्यमा सामान्यतया पाँच महिना जति लाग्छ । त्यसपछिमात्रै नयाँ कार्ड र मास प्रिन्टर आइपुग्छ ।’
प्रतिक्रिया