काठमाडौंमा नक्कली रक्सी उत्पादन तथा बिक्री गर्ने गिरोह पक्राउ
काठमाडौंमा नक्कली मदिरा उत्पादन तथा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री-वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरूले नक्कली मदिरा उत्पादन गरेर बजार मूल्यभन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको सो कार्यालयका डीएसपी अनिल घिमिरेले बताए ।
पक्राउ पर्नेहरूमा रामेछापका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का, सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा रहेका छन् ।
त्यसैगरी रामेछापका २० वर्षीय मनिष खत्री, २३ वर्षीय महेश खत्री र सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्कीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट नक्कली मदिराको बिक्री-वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजस्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
डीएसपी घिमिरेले नक्कली मदिराहरू बिक्री-वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले यसमा संलग्न अरूलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याइने बताए ।
प्रहरीले उनीहरूको साथबाट नक्कली खुकुरी रम २८८ बोतललगायतका मदिरा पनि बरामद गरेको थियो ।
प्रतिक्रिया