होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन हानको माग
होटल संघ नेपाल (हान) ले होटलहरूलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रूपमा मान्यता दिने गरी औद्योगिक व्यवसाय ऐन र नियमावलीमा संशोधन गर्न सरकारसँग माग गरेको छ। मंगलवार काठमाडौंमा आयोजित सत्कार दिवस कार्यक्रममा संघले सरकारसँग यस्तो माग गरेको हो।
होटलहरू उद्योगमा दर्ता भए पनि सरकारी ऐन, नीति र नियमले सेवा व्यवसायको रूपमा वर्गीकरण गरेका कारण ऊर्जा, पूर्वाधार र भन्सारलगायतका क्षेत्रबाट पाउने सुविधामा सहज व्यवहार नभएको गुनासो संघको छ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विनायक साहले होटलहरूलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रूपमा मान्यता दिने गरी औद्योगिक व्यवसाय ऐन र नियमावलीमा संशोधन गर्न सरकारसँग माग गरे। उनले सरकारको नीति र नियमले होटलहरूलाई सेवा व्यवसायको रूपमा हेर्दा होटलहरू विद्युतलगायत अन्य सरकारी सुविधाहरूबाट वञ्चित भएको बताए।
उनले भैरहवा क्षेत्रका होटलहरू बैंकको ब्याज र किस्ता समयमा नै तिर्न नसक्दा कालोसूचीमा परेको अवस्था रहेको बताए। उनले होटल क्षेत्रका समस्या समाधानका लागि हालको मौजुदा स्थितिको सूक्ष्म समीक्षा गर्न सोहीअनुरूपको राष्ट्रिय नीति र कार्ययोजना आवश्यक रहेको बताए।
उनले पर्यटन क्षेत्रको विद्यमान ऐन नियमहरूमा सुधारको आवश्यकता औंल्याए। सरकारले घोषणा गरेको २०२३ देखि २०३२ को पर्यटक दशक पहिलो वर्ष बितिसक्दा पनि कार्यान्वयन पक्ष मौन रहेको उनको आरोप छ। अध्यक्ष साहले नेपालमा ३५ लाख पर्यटक धान्न सक्ने पर्यटकीय पूर्वाधारहरू बनिसकेको भए पनि होटलहरू ५० प्रतिशत कममा सञ्चालनमा रहेको बताए।
संघका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पछिल्लो समय होटल क्षेत्रमा भइरहेको लगानीको आयामका कारण पर्यटन उद्योग राष्ट्रिय आर्थिक उन्नतिको क्रममा रहेको बताए। उनले सरकारले राष्ट्रिय राजमार्गकोस्तरोन्नति, अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना, प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न गरे पर्यटक आगमन वृद्धि हुने अपेक्षा रहेको बताए।
उनले २०२३ को पर्यटन आगमनले होटल क्षेत्रमा उत्साह थपिएको बताए। उनले विश्वमा कोभिडपछि ९० प्रतिशत पर्यटक वृद्धि भएको उल्लेख गरे। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तर उन्नति, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने बताए।
गुणस्तरीय पर्यटन विकासमा होटल संघ नेपाल प्रतिबद्ध रहेको उनको भनाइ छ। उनले सन २०२५ लाई नेपाल पर्यटन वर्ष घोषणा गर्न सरकारसँग माग गरे।
प्रतिक्रिया