६ महिनायताकै उच्च बिन्दुमा नेप्से, २ वर्षयताकै उच्च कारोबार
शेयर बजारमा मंगलवार उत्साह देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकसँगै काराेबार रकममा पनि उच्च वृद्धि भएको हो ।
मंगलवार नेप्से झन्डै ६ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २.५७ प्रतिशतले बजार बढेको छ । ५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा कायम भएको छ ।
नेप्सेको यो अंक साउन ८ यताकै उच्च हो । सो दिन नेप्से २२ सय बिन्दु पुगेको थियो । कारोबार रकम पनि ८ अर्ब रूपैयाँ नाघेको छ । यो कारोबार रकम करिब दुई वर्ष अर्थात् २०७८ माघ २० यताकै उच्च हो ।
कुल २१४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने २ को स्थिर रह्यो । यस दिन सबै समूहहरू बढेका छन् । बैंकिङ २.०३, विकास बैंक २.६३, फाइनान्स ४.७५, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर ३.५१, लगानी ३.७०, जीवन बीमा १.७८, उत्पादन २.४९, माइक्रोफाइनान्स ३.०२, निर्जीवन बीमा १.९२, अन्य २.६२ र व्यापार समूह २.१५ प्रतिशत बढे ।
यस दिन बुटवल पावर कम्पनी, युनाइटेड मोदी, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल वेयरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माथिल्लो तामाकोसी, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, निफ्रा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमाल दोलखा हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया