महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन् ।

कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुगेका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताए । “साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ, उनले भने, यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ ।

पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिए । करिडोर अनुगमन गर्दै परशुरामधाम पुगेका उनीसहितको टोली धाममा आयोजित मकर मेलामासमेत सहभागी भएको थियो ।

करिडोरअन्तर्गत रुख कटानको समस्या चारवटै जिल्ला (कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला) मा हल भएर निर्माण अघि बढेको छ । करिडोरको ट्रयाक हुँदै यसपालि डडेल्धुरा आयौँ, अर्को पटक बैतडीसम्म पुग्ने योजना छ, प्रमुख सचेतक लेखकले भने । विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियानअन्तर्गत अघि बढेको उल्लेख गर्दै उनले भारतको पूर्णागिरि दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने बताए ।

हरेक वर्ष फागुनदेखि जेठसम्म लाखौँ भारतीय भक्तजन पूर्णागिरिपछि सिद्धनाथ मन्दिर दर्शन गर्न आउँछन्, नेता लेखकले भने, अब सिद्धनाथ मन्दिर आउने पर्यटकलाई करिडोर हुँदै परशुरामधाम पुर्याउनेगरी प्रचार–प्रसारमा जोड दिनुपर्छ । उनले परशुराम धामको धार्मिक महत्वका बारेमा पूर्णागिरि मेला अवधिमा प्रचार–प्रसारमा जोड दिन आग्रह गरे । पछिल्लो समय महाकाली करिडोरको ट्रयाक खुलेपछि कञ्चनपुरको ब्रह्मदेव हुँदै जोगबुढा परशुरामधाम जानेको चहलपहल बढेको छ ।

नेता लेखकले करिडोरका लागि आवश्यक बजेट सरकारले प्रबन्ध गर्ने र यसलाई दोधारा चादँनी सुक्खा बन्दरगाहसित जोडेर आर्थिक नाकाका रूपमा समेत विकास गरिने बताए । कञ्चनपुरबाट दार्चुलाको उत्तरीनाका तिङ्कर जोड्ने महाकाली करिडोरका कारण लामो समयपछि कञ्चनपुर–डडेल्धुराको यात्रा सहज हुनुका साथै यात्रुलाई समयको पनि बचत भएको छ । ब्रह्मदेवबाट दार्चुलाको उत्तरी नाका तिङ¬्कर भञ्ज्याङसम्मको चार सय १३ किलोमिटर सडक १३ वर्षदेखि निर्माणाधीन छ ।

पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रूपमा विकास गर्ने योजनासहित अघि सारिएको उक्त करिडोरअन्तर्गत ब्रह्मदेवबाट १५ किलोमिटरसम्म ( जोगबुढा) ट्रयाक खुलेको छ । करिडोरअन्तर्गत तीन सय ३४ योजना कार्यालय र ७९ किलोमिटर खण्ड ट्रयाक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले लिएको छ । करिडोर अनुगमनमा सोमबार नेता लेखकसँगै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट तथा प्रदेशसभा सदस्यहरु प्रकाश रावल, बेलबहादुर राना, ओमप्रकाश भाट र मधुदेवी भारती, भीमदत्त र परशुराम नगरपालिकाका प्रमुखलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *