मिथिलामा ‘लाइ’ बनाउन भ्याइनभ्याई
घर–घरमा तिलासक्रायत पर्व मनाएपछि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाइ’ (तील, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सखरको खुँदोमा मिलाएर बनाइने लड्डु, एक प्रकारको मिष्टान्न परिकार) बनाउन भ्याइनभ्याई छ । मैथिल धमाधम ‘सनेस’ (कोसेली) पुर्याउने चटारोमा छन् । घरघरमा पर्व मनाइएपछि मिथिलामा ‘सनेस’का लागि ‘लाइ’ बटार्ने (बनाउने) चटारो हुन्छ ।
मिथिला क्षेत्रका घरघरमा अहिले तील, चिउरा, जुनेलो र मुरीका ‘लाइ’ बनाउन थालिएको छ । सोमबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको ‘सनेस’ नातेदारका घरमा पुर्याउने परम्परा धान्न ‘लाइ’ बनाउने व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, पूmपू, दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको ‘सनेस’ पठाउने स्थापित मैथिल परम्परा छ ।
पर्व मनाइएपछि ‘लाइ’ बनाउने व्यस्तता बढ्छ, पर्व सम्पन्नपछि सनेस पठाउनुपर्ने भएकाले अहिले घरघरै यो कामले छोपेको छ, बर्दिबास–९ पशुपतिनगरकी शैल महतो भन्नुहुन्छ, सामाजिक–पारिवारिक वास्तासँग जोडिएको परम्परा बन्यो, मैथिल संस्कृति हो ।
अघिअघिका वर्षमा माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लाग्ने गरेको विगत सम्झना भए पनि यसपालि भने हुस्सु हटेको छैन । चिसो स्याँठबीच नै सनेसको तयारी गर्नुपरेको छ । माघ लागेपछि बिहानदेखि पारिलो घाम लाग्थ्यो, यसपालि अँध्यारो कुहासा (हुस्सु)ले अझै छोडेको छैन, शैलकी छिमेकी दिपियादेवी महतोले भने, यतिबेला छोरीचेली माइती भेट्न आउँछन् भन्ने आशमा हुन्छन् ।
सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम लाग्ने आम अड्कल यसपालि मिलेको छैन । माघे सङ्क्रान्तिका दिन घाम नदेखिएरै बितेको थियो । आज पनि हुस्सुले छोड्ने छाँटकाँट छैन । पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि त्यसयता विवाहित चेलीबेटी र मित–मितिनीकहाँ सनेस पठाउन ‘लाइ’ बनाउने गरिन्छ । मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठपर्व र माघ १ गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि आफन्तकहाँ पुर्याउने परम्परा छ ।
प्रतिक्रिया