पाँच महिनामा एक लाख पर्यटक घुमे चितवन राष्ट्रिय निकुञ्ज, १० करोड रूपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्षको पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जंगल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले निकुञ्जको अवलोकन गरेका हुन् ।

विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरूले बढी रूचाउने क्षेत्र पनि हो । यस निकुञ्जमा गैंडा, पाटेबाघ, सोँस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिंगरलगायत सरिसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरूंगी, र विभिन्न किसिमका कीरा फट्यांग्राहरू रहने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पाँच महिनामा एक लाख बढी पर्यटकले निकुञ्ज अवलोकन भ्रमण गरेको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका एक लाख बढी पर्यटकबाट निकुञ्जले १० करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको उल्लेख गरे ।

उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रूपैयाँ राजस्व संकलन गरेको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ ।

उनले निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरू अवलोकन गर्न सक्ने अवस्था रहेको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जमा गैंडा, बाघ, अन्य वन्यजन्तु र जंगल सफारीमार्फत अवलोकनका लागि आउने हात्ती कुन क्षेत्रमा छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, मकुना, यमगज र गोविन्देलगायतका हात्तीहरू बाहिर देखिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *