बजेटको अर्धवार्षिक समीक्षा : आम्दानीभन्दा खर्च ४८ अर्ब बढी
आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख रूपैयाँ बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत आम्दानी र ३२ दशमलव ३५ प्रतिशत खर्च भएको छ ।
चालु आवका लागि सरकारले कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रूपैयाँ बराबर राजस्व उठाउने लक्ष्य लिएकोे छ । कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख रूपैयाँ बराबर राजस्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो । छ महिनामा कर राजस्वतर्फ ३३ दशमलव ९८ प्रतिशत अर्थात् चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख रूपैयाँ उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाख रूपैयाँ बराबर असुली भएको छ ।
चालु आवका लागि कुल ४९ अर्ब ९४ करोड ३० लाख रूपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म पाँच दशमलव ५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रूपैयाँ बराबर वैदेशिक अनुदान लिइएको छ । चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रूपैयाँ बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख रूपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो । चालुगत शीर्षकमा कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रूपैयाँ बराबर बजेट छुट्याइएकामा ३८ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख रूपैयाँ खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो ।
त्यसैगरी पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रूपैयाँ बराबर छुट्याइएकामा १६ दशमलव तीन प्रतिशत अर्थात् ९ अर्ब २३ करोड ५८ लाख रूपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्थामा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रूपैयाँ बराबर बजेट विनियोजन भएकामा २६ दशमलव दुई प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख बराबर रूपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया