आजदेखि मेलम्चीको पानी काठमाडौंबासीलाई नियमित रूपमा उपलब्ध हुनेछ : प्रधानमन्त्री
मेलम्ची खानेपानीको पाँचौं पटक आज पुनः उद्घाटन भएको छ ।
काठमाडौंवासीका लागि लामो प्रतीक्षा बनेको मेलम्ची खानेपानी पहिलो पटक २०७७ फागुन २२ मा उपभोक्ताका धारामा झर्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक यसको उद्घाटन गरेका थिए ।
संरचना निर्माण नटुंगिँदै हतारोमा उद्घाटन गरेको टिप्पणी सेलाउन नपाउँदै १ महिनामै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः मेलम्चीको उद्घाटन गरिन्, भृकुटीमण्डपमा बनाइएको धारा खोलेर । तर २०७८ असारमा मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान पुरिएपछि तीन महिनामा नै पानी आउन बन्द भयो ।
अस्थायी निर्माण गरेर २०७९ वैशाख ११ मा काठमाडौंमा पुनः पानी वितरण गरियो, यसपालि पनि उद्घाटन नै गरियो । यसका लागि अघि सरे तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी । तर मेलम्चीको पानी मुस्किलले एक महिना मात्रै उपभोक्ताका धारामा आयो । बाढीपहिरोको जोखिम भन्दै २०७९ जेठमा सुरुङ बन्द गरियो ।
६ महिनापछि मन्त्री चौधरीले नै मंसिर २३ मा फेरि काठमाडौंको महांकालस्थित पानी वितरण केन्द्रबाट वितरण ‘सुरुवात’ गरे । चौधरीले एकै वर्षमा एउटै ब्यानरमा दुई पटक पानी वितरणको शुभारम्भको ‘रेकर्ड’ राखे । त्यसको ६ महिनापछि पुनः २०८० असारमा मेलम्ची खानेपानीको सुरुङ बन्द भयो ।
गत साउनको बाढीले पुरिएको मुहान यतिबेला मर्मतपछि पुनः ‘उद्घाटन’ गरेर पानी वितरण गर्न लागिएको छ । यस पटक मेलम्ची उद्घाटनको पालो प्रधानमन्त्री पुष्पकमल दाहालमा आएको छ । दाहालले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर उद्घाटन गर्दा मेलम्ची खानेपानीको पाँचौं पटक ‘सुरुवात’ गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन् । बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभास समाधान गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले भने, ‘काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ।’
कार्यक्रममा प्रधानमन्त्रीले ‘आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने र हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई मैले निर्देशन दिएको’ जानकारी दिएका थिए ।
प्रतिक्रिया