नक्कली शरणार्थी प्रकरण : थुनामा परेका सबै सर्वोच्च पुगे

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सबै सर्वोच्च अदालत पुगेका छन् । उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाले उक्त आदेश बदरको माग गर्दै विभिन्न मितिमा सर्वोच्चमा ७३ नम्बरको निवेदन दर्ता गराएका हुन् ।

‘थुनामा रहनुभएकाले विभिन्न मितिमा निवेदन दर्ता गराउनुभएको छ । उहाँहरूको निवेदनमाथि विभिन्न मितिमा कैफियत प्रतिवेदन झिकाउने आदेश पनि भएका छन्,’ सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले भने ।

यस निवेदनको म्याद नहुने भएकाले जहिलेसुकै आउन सक्ने उनले बताए । यद्यपि, हालसम्म सरकारी पक्षको निवेदन नपरेको घिमिरेले जानकारी दिए । उच्चको आदेशले नौजना यस मुद्दामा पुर्पक्षका लागि थुनामा छन् भने ११ जनाको हकमा जिल्लाको आदेश बदर भएको छ ।

सर्वोच्चको अभिलेखअनुसार १२ पुसमा गृहसचिव टेकनारायण पाण्डे र पूर्वमन्त्री टोपबहादुर रायमाझीले उच्चको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता गराएका छन् ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले उक्त निवेदनउपर सुनुवाइ गर्दै १६ पुसमा कैफियत झिकाउने आदेश दिएका छन् । यसैगरी उच्चको आदेशले थुनामै रहेका पाण्डे र रायमाझीसहित केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, इन्द्रजित राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पासमेत निवेदनसहित सर्वोच्च पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *