होटल संघले माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउने

होटल संघ नेपाल (हान) ले माघ २ गते काठमाडौंमा नेपाल सत्कार दिवस-२०२४ मनाउने भएको छ । होटल क्षेत्रको समग्र विकासमा मद्दत पुर्‍याउने उद्देश्यले संघले पहिलो पटक नेपाल सत्कार दिवस मनाउन लागेको हो ।

संघका अध्यक्ष विनायक साहले होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरू र चुनौतीबारे समीक्षाका लागि सत्कार दिवस बनाउन लागिएको बताए । उनले ५८ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिगत रूपमा दर्ता भएको सम्झनामा.सत्कार दिवस मनाउन लागिएको बताए ।

उनले आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुराहरूमा सरोकारवालहरूसँग छलफल गरी कार्यनीति ल्याइने बताए । संघले तयार गरेको ‘नेपाल होटल इयरबुक-२०२४’ र ‘ई-लर्निङ प्लेटफर्म’ मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक सार्वजनिक गरिने बताए ।

उत्सवमा सातै प्रदेशका रैथाने मौलिक खानाहरूले स्वदेशी र विदेशी गरी ३ सय जना पाहुनालाई सत्कार गरिने बताए । उनले संघले सत्कार दिवसलाई आगामी वर्षदेखि निरन्तरता दिने बताए ।

उनले २०२३ पर्यटक आगमनको हिसाबमा सुखद् रहेको भन्दै आगामी वर्ष थप वृद्धि गर्ने गरी काम गनु आवश्यक रहेको बताए । उनले २०२३ मा १० लाख पर्यटक नेपालमा आगमन भएको स्मरण गरे ।

३० लाख देखि ३५ लाख पर्यटकलाई धान्न सक्ने क्षमताका पर्यटन पूर्वाधार बनेको भन्दै उनले त्यति पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकार र निजी क्षेत्र अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *