
राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले कतिसम्म गर्न पाउँछन् खर्च ?

निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै आयोगले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको जानकारी दिएकाे हो ।
उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची-१ मा भएको व्यवस्थाअनुसार ३ लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न सक्ने आयोगले जनाएको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारले उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तकरक्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सो खर्च गर्न सक्नेछन् ।
खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोलेर त्यही खाताबाट मात्रै खर्च गर्न पनि आयोगले निर्देशन दिएको छ।
निर्वाचन सम्पन्न भएपछि ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा खर्च विवरण पेस गर्नसमेत आयोगले निर्देशन दिएको हो । माघ ११ गते हुने निर्वाचनका लागि आठ दलका तर्फबाट ५२ जना उम्मेदवार छन् ।
प्रतिक्रिया