भरतपुर क्षेत्रको रेलमार्ग सर्भे किन भयाे स्थगित ?

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व–पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे स्थगन गरिएको बताएका छन् । भरतपुर महानगरपालिकाले शनिबार आयोजना गरेको पूर्व–पश्चिम रेलमार्गको सर्भेका क्रममा भरतपुर महानगर क्षेत्रभित्र देखिएका समस्याबारे आयोजित छलफलमा उनले स्थानीयको चाहनाविपरीत रेलमार्ग नबन्ने बताए ।

रेलमार्गको विकल्प दिन उनले आग्रह गरे । उनले नयाँ विकल्पका विषयमा छलफल अघि बढाइने बताए । भरतपुर महानगरपालिकाले दिएको विकल्पबारे प्राविधिक रूपमा अध्ययन गरिने उनको भनाइ थियो ।

उनले थपे, “योभन्दा उपयुक्त विकल्प दिन म यहाँहरूलाई अनुरोध गर्दछु ।” महानगरपालिकाले दिएको विकल्पबारे मन्त्रालयले मात्र गरेर नहुने भएकाले प्रधानमन्त्रीसँग पनि छलफल गरिने उनले बताए ।

त्यस अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अहिले रेखांकन गरिएको रेलमार्गमा घना बस्ती रहेको र ८०० भन्दा बढी घरधुरी पर्ने भन्दै नयाँ विकल्प प्रस्ताव गरिएको बताइन् । भारतपुर–११ र १२ को वन क्षेत्रको छेउ हुँदै रेलमार्ग बनाउँदा छोटो र कम लागत पर्ने उनको भनाइ थियो । यसरी रेलमार्ग बनाउँदा नारायणी नदीको साँघुरो क्षेत्रबाट पार गर्न सकिने उनको तर्क थियो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले अहिले रेखांकन गरिएका क्षेत्रबाट रेलमार्ग सम्भव नहुने भएकाले महानगरले कार्यक्रमको आयोजना गरेको बताए ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले स्थानीयको सहमतिबिना रेलमार्ग नबन्ने बताए ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य, प्रदेशसभाका पूर्वमन्त्री, प्रमुख राजनीतिक दलका जिल्ला अध्यक्ष एवं संयोजक र पूर्वसभापतिहरू, रेलमार्ग संघर्ष समितिका संयोजक एवं प्रतिनिधिहरू, निजी क्षेत्रका व्यवसायीलगायत सरोकारवालाको उपस्थिति थियो ।

स्थानीयले रेलमार्गको विकल्प खोज्नुपर्ने अडान राखेपछि महानगरपालिकाले छलफल आयोजना गरेको हो । कार्यक्रममा सहभागी दलका नेता र सरोकारवालाले अहिले भइरहेको रेलमार्गको रेखांकन स्थगन नभएर रद्द नै गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *