प्रस्तावित रेल मार्गप्रति चितवनका राजनीतिक दलहरुकाे आपति

प्रस्तावित रेल मार्गप्रति चितवनका राजनीतिक दलहरुले बिरोध जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले विज्ञप्ती नै निकालेर प्रस्तावित रेल मार्गप्रति आपति जनाएका हुन् ।

नेपाली कांग्रेस चितवनले बिहिबार एक विज्ञप्ती जारी गर्दै रेल मार्गको बैकल्पिक मार्ग चयन गर्न अनुरोध गरेको थियो । त्यसको भोलिपल्ट शुक्रबार नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र नेकपा (एकीकृत समाजवादी) ले विज्ञप्ती निकालेर मानव बस्तीलाई असर नपुग्ने गरी रेल मार्ग चयन गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले चितवनका अध्यक्ष रापमप्रसाद न्यौपानेले निजगड–हेटौँडा–भरतपुर खण्डको प्रस्तावित रेलमार्गको खबरले नेकपा एमाले चिवतनको ध्यानाकर्षण भएको जनाएका छन् । चितवनका राजनीतिक दल, नागरिक समाज लगायतको सरोकारवालाहरुसंग परामर्श नगरी गरिएको रेखाङकनलाई अगाडि नबढाउन न्यौपानेले विज्ञप्ती मार्फत अनुरोध गरेका छन् । ‘सर्वपक्षिय सहमति र नागरिकका जायज सवालहरुलाई ध्यान दिई रेखाङ्कनको क्षेत्रमा पर्ने जग्गा र भौतिक संरचनाको समुचित मुल्यांकनको आधारमा मुआब्जा दिई रेलमार्ग निर्माणको कार्य अगाडि बढाउन जोडदार माग गर्दछौँ’–न्यौपानेले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ।

प्रस्तावित रेलमार्गले पूर्वपश्चिम रेलमा मार्ग चितवनको राप्ती नगरपालिकाको १, २, ३ र ६, खैरहनी नगरपालिकाको ५, ७ र १०, रत्ननगर नगरपालिकाको ४, ५ र ९ त्यस्तै भरतपुरको ८, ७, ५, ४ र १६ नम्बर वडा हुँदै जाने गरी रेल मार्ग प्रस्तावित गरिएको छ । भरतपुर महानगरपालिकामा उल्लेखित अधिकांश वडाहरु शहरी क्षेत्रमा पर्दछन् । सो रेलमार्ग भरतपुरबाट जाँदै गर्दा महानगरले अधिकतम् लाभ लिन सक्ने गरी घना बस्ती जोगाएर रेल स्टेशन राख्नुपर्ने विज्ञप्तीमा भनिएको छ ।

नेकपा (माओवादी केन्द्र)का चितवनका अध्यक्ष रामप्रसाद अधिकारीले रेलमार्गको रेखांकन गर्दा मानव बस्ती विकासको माडेल र कम धन सम्पती क्षती हुने गरी तयार गर्नुपर्ने बताएका छन् । उनले रेलमार्ग निर्माणको सिमा क्षेत्रका वातावरण प्रभाव मुल्यांकन, प्रभावित जनताको जनसंख्याको जनघनत्वको अवस्था बुझ्नुपर्ने विज्ञप्ती मार्फत भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रिय सभापति रवि लामिछानेले बीसहजारी ताल हुँदै वडा नम्बर १६मा निस्केर नवलपुर तर्फ रेलमार्ग बनाउन नहुने बताएका छन् । ‘पूर्व पश्चिम रेलमार्ग पूर्वबाट टिकौली जंगलछेऊ हुँदै भरतपुर वार्ड नम्बर ८, बीसहजारी ताल जाने बाटो एसओएस, बालग्राम छेऊ छिरेर ७, ५ ४ र १६ हुँदै नारायणी नदीबाट नवलपुर हुँदै पश्चिमतर्फ लैजाने गरी रेखाङ्कन भएको सुन्नमा आएको छ,’ प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानले विज्ञप्तीमा भनेका छन् ‘हामी विकास विरोध हुँदै होइन तर, सरकारले यसबाट त्यस क्षेत्रका बासिन्दालाई पर्नसक्ने असरबारे एकपटक पनि नसोचेकाले आज जनताले सडकमा निस्केर सरकारको गर्नुपरेको छ ।’ अहिले प्रस्ताव गरिएको क्षेत्र शहरी क्षेत्रमा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताएका छन् । उनले भरतपुरमा स्टेसन राख्दा गैंडाकोटबासीलाई समेत पायक पर्ने गरी राख्न अनुरोध गरेका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी)का कार्यवहाक अध्यक्ष कृृष्णराज न्यौपाने ‘लब्ली’ले एक विज्ञप्ती मार्फत प्रस्तावित रेल मार्गमा आफ्नो पार्टीको गम्भिर ध्यानाकषर्ण भएका जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *