अनलाइन क्यासिनो गेम खेलाएकाे आरोपमा तीन जना पक्राउ
क्यास एप, मिल्की वे जस्ता एप्लिकेसनमार्फत हारजित हुने गरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौँको कोटेश्वर बस्ने २५ वर्षीय पूजन साँवा, भक्तपुरको सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाहीको बागमती नगरपालिका-७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका-११ हीरापुर घर भएका २५ वर्षीय निशान गौतम रहेका छन् ।
उनीहरूले विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको सूचना प्रहरीले पाएको थियो ।
त्यस आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
प्रतिक्रिया