कोभिडको नयाँ भेरियन्ट जेएन.वान नेपालमा पनि फैलिएकाे पुष्टि
काठमाडाैं। ओमिक्रोनको नयाँ सबभेरियन्ट जेएन.वान नेपालमा पनि पुष्टि भएको छ । देशका विभिन्न भागबाट संकलन गरिएका १६ वटा पिसिआर तथा एन्टिजेन पजिटिभ नमुना परीक्षण गर्दा सात नमुनामा जेएन.वान देखिएको हो ।
छिमेकी भारतमा जेएन.वान धेरै फैलिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षण गरेको थियो । नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सीमा प्रवेश विन्दुमा स्क्रिनिङ र निगरानी बढाउन हेल्थ डेस्क र स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको जनाएको छ। स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूलाई पनि उपचार व्यवस्थापनको तयारीका लागि मन्त्रालयले आग्रह गरेको छ ।
संक्रमण र संक्रमणको फैलावट रोक्न भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न–गराउन पनि सम्बन्धित निकायलाई जानकारी गराइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । ‘कोभिडविरुद्धको खोप नलगाएका व्यक्ति, गर्भवती, दीर्घरोगी र अन्य विभिन्न कारणले प्रतिरोधी क्षमता कम भएका व्यक्ति संक्रमणको जोखिममा छन् । छिमेकी मुलुकमा पनि अहिलेको भेरियन्टले संक्रमण बढाइरहेकाले फेरि संक्रमण फैलिन नदिन सचेत हुनुपर्ने समय आएको छ,’ प्रवक्ता बुढाथोकीले भने ।
गत सेप्टेम्बरमा अमेरिकामा पहिलोपटक देखिएको जेएन.वान पछिल्लोपटक महामारीको रूप लिएको ओमिक्रोनको सबभेरियन्ट हो । सुरुवाती दुई महिना संक्रामक नदेखिए पनि डिसेम्बरपछि यो भाइरस तीव्र रूपमा फैलिन थालेको हो । वृद्धवृद्धामा जोखिम मानिएको जेएन.वान पछिल्ला अन्य भेरियन्टहरूको तुलनामा संक्रामक मानिए पनि अस्पताल भर्नादर र मृत्युदर भने निकै न्यून छ ।
जेएन.वान हाल भारत, चीन, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत देशमा तीव्र रूपमा फैलिइरहेको छ । यसबाहेक अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपियन देश डेनमार्क, स्पेन, बेल्जियम, फ्रान्स, नेदरल्यान्डमा बढिरहेको छ ।
प्रतिक्रिया