टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न अदालतको आदेश

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्नु नपेर्न ठहरसहित हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘यसमा यिनै जाहेरवालाले यी प्रतिवादीविरूद्ध उच्च अदालतमा प्रस्तुत मुद्दासँग सम्बन्धित विषयमा दिएको निषेधाज्ञा ०८०-१-००३९ नम्बरको मुद्दा दायर गरी मिति २०८०/०६/२१ मा अन्तरिम आदेशको निरन्तरता नहुने गरी आदेश भइसकेको अवस्था देखिँदा सोही विषयमा यी प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिँदा प्रतिवादीलाई हाजिरी जमानीमा राखी मुद्दा अनुसन्धान गर्नु भनी प्रस्तुत आदेश गरिदिएको छ ।’

अदालतसमक्ष उपस्थित गराइएका भट्टका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली र सूर्यप्रसाद कोइरालाले बहस गरेका थिए । यस्तै अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंको मिसिल पनि अध्ययन गरेको थियो ।

भट्टविरूद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पक्राउ गरेको थियो ।

आपराधिक विश्वासघात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी जाहेरीका आधारमा उनी पक्राउ परेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *