मुस्कुराउँदै आए, मुस्कुराउँदै फर्किए विदेशमन्त्री जयशंकर

यसकारण उनको नेपाल भ्रमण उपलब्धिपूर्ण

भारतका विदेशमन्त्री डा एस जयशङ्कर मुस्कुराएको विरलै देखिन्छ । अन्तर्मुखी स्वभावका जयशङ्कर हत्तपत्त खुल्दैनन् । तर, यसपटकको उनको नेपाल भ्रमणमा भने दृश्य फरक देखियो ।

आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका विदेशमन्त्री जयशङ्कर काठमाडौँ अवतरण गर्दा पाएको स्वागतदेखि र फर्कँदाको बिदाइको दृश्यसम्ममा मन्द मुस्कानसहित देखिए । सम्भवतः सामाजिक, सांस्कृतिक हरदृष्टिकोणले सबैभन्दा नजिकको सम्बन्ध रहेको नेपालसँग आफ्नो भ्रमणमा दुई देशबीच रणनीतिक महत्त्वका सम्झौता हुँदाको खुसी र यहाँ रहँदा पाएको सम्मान, सौहार्दताको प्रकटीकरण हुनुपर्छ यो ।

अंग्रेजी नयाँ वर्ष २०२४ को सेरोफेरोमा आफ्नो पहिलो विदेश भ्रमण नेपालमा हुनुले पनि जयशङ्कर निकै खुसी र उत्साहित थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको केही बेरमै उनले त्यसको खुसी र उत्साह पनि नेपाली भाषामै सामाजिक सञ्जाल ‘एक्स’ मा प्रकट गरिहाले, ‘नमस्ते काठमाडौँ, सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु । आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु ।’

यस्तै उनी नेपाल भ्रमणमा आउँदा उनलाई विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गर्ने चर्चा थियो । तर, उनको स्वागत र बिदाइ दुवैका लागि परराष्ट्रमन्त्री साउद स्वयम् विमानस्थल पुगे । चाहे जतिसुकै उच्चपदस्थको विदेश भ्रमण होस्, भ्रमणमा गएको देशका समकक्षी नै स्वागत र बिदाइमाा पुग्नु धेरै देशका लागि दुर्लभ विषयको कुरा बन्न पुग्छ । त्यसका विपरीत स्वागत र बिदाइमा नेपाली पक्षबाट पाएको सम्मान र सत्कारको खुसीको केही अशं पनि जयशङ्करको मुस्कानमा मिसिएको हुनुपर्छ ।

उनै जयशङ्कर आफ्नो नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्केका छन् । उनको भ्रमणका क्रममा दुई देशबीच महत्त्वपूर्ण विभिन्न द्विपक्षीय सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको छ ।

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी बिहीबार नेपाल आएका थिए । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त आयोगको बैठकपश्चात् भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको थियो ।

बैठकमा सन् २०२१ को जनवरीमा सम्पन्न भारत-नेपाल संयुक्त आयोगका छैटाैँ बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरूको प्रशंसा गरिएको थियो ।

बैठकमा नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि भारत र नेपालबीच नयाँ सहमति कायम भएको छ । नयाँ सम्झौतामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि बजेटको सीमा पाँच करोड रूपैयाँबाट बढाएर २० करोड रूपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै दीर्घकालीन ऊर्जा व्यापारका लागि भारत सरकार र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअन्तर्गत आगामी दश वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको परिमाण १० हजार मेगावाटसम्म पुर्‍याइने छ । यसका लागि नेपालको जलविद्युत् उत्पादन क्षेत्र र प्रसारण पूर्वाधारमा पारस्परिक लाभदायी लगानीलाई प्रोत्साहन गर्न सबै उपायहरू अपनाउनेमा दुवै पक्ष सहमत भएका छन् । यो सम्झौताले नेपालको ऊर्जा व्यापारमा ठूलो फड्को मार्ने विश्लेषण भइरहेको छ । यसको पूर्णतापछि नेपालले खर्बौँ आम्दानी गर्नेछ । नेपालको राष्ट्रिय अर्थतन्त्रमा यसको ठूलो योगदान रहेनछ ।

यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा निर्मित मुनाल स्याटेलाइटका लागि न्यूस्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबीच प्रक्षेपण सेवा सम्झौता भएको छ । नेपाली विद्यार्थीले बनाएको यो स्याटेलाइट बिना शुल्क भारतीय प्रक्षेपण रकेटबाट प्रक्षेपण गरिने छ ।

भारतको एनटीपीसी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच नवीकरणीय ऊर्जा विकासमा सहकार्यका लागि एक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । यस समझदारीपत्रले एनटीपीसी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जामा सहकार्यका लागि खाका तयार पार्नेछ ।

सोही अवसरमा दुवै विदेशमन्त्रीले रक्सौल-परवानीपुर प्रसारण लाइनको दोस्रो सर्किट, कटैया-कुशाहा लाइनको दोस्रो सर्किट र नयाँ नौतनवा-मैनहिया लाइन गरी भारत र नेपालबीच रहेको तीनवटा एक सय ३२ केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

त्यस्तै दुवै मन्त्रीको उपस्थितिमा जाजरकोटका भूकम्पपीडितका लागि भारत सरकारले उपलब्ध गराएको पाँचौँ चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । उक्त राहत सामग्रीमा भूकम्पबाट प्रभावित मानिसका लागि दुई सय प्रिफ्याब घरहरू, एक हजार दुई सय ब्ल्याङ्केट, एक सय ५० वटा त्रिपाल र दुई हजार स्लिपिङ ब्याग छन् । दुई सयवटा प्रिफ्याब घरमध्ये २० वटा घर कार्यक्रममा हस्तान्तरण गरिएको थियो भने बाँकी घर आउँदो केही साताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिनेछन् ।

साथै जाजरकोटमा हालै गएको भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न भारत सरकारले करिब १० अर्ब रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भारतीय विदेशमन्त्रीले घोषणा गरेका थिए । त्यसमध्ये ठूलो हिस्सा अनुदान सहायताअन्तर्गत रहनेछ ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । साथै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छुट्टाछट्टै भेटवार्ता गरेका थिए । विदेशमन्त्री डा जयशङ्कर र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतबीच पनि भेटवार्ता भएको थियो ।

सबै भेटघाटमा पारस्परिक हितका द्विपक्षीय विषयमा कुराकानी भएको नेपालस्थित भारतीय दूतवासले जनाएको छ । परराष्ट्रमन्त्री साउदले विदेशमन्त्री डा जयशङ्करको सम्मानमा हिजो रात्रिभोजको पनि आयोजना गरेका थिए ।

भ्रमणको दोस्रो दिन दुवै विदेशमन्त्रीले भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवनसहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा भूकम्पपछिका ५९ वटा पुनःनिर्माण परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

भ्रमणका क्रममा विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै पशुपतिनाथ मन्दिर परिसरमा रूद्राक्षको बिरूवा रोपेका थिए । पशुपतिनाथमा आफूले दुवै देशका जनताको कल्याणका लागि प्रार्थना गरेको दर्शनपछि सामाजिक सञ्जाल ‘एक्स’ मा बताएका छन् ।

‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण भएको भारतीय पक्षले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *