छुरा प्रहारबाट घाइते दक्षिण कोरियाली नेताको घाँटीमा डेढ सेन्टिमिटरको चोट

दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्य्राटिक पार्टीका नेता ली जे म्युङलाई मंगलबार दक्षिणपूर्वी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा ६० वर्षका एक व्यक्तिले घाँटीमा छुरा प्रहार गर्दा घाइते भएका छन्।

ती व्यक्तिले लीको घाँटीमा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट उनको घाँटीमा डेढ सेन्टिमिटरको चोट लागेको बताइएको छ।

स्थानीय समयअनुसार मंगलबार बिहान १०:२७ बजे बुसानको नयाँ विमानस्थलको निर्माणस्थलको भ्रमण गरिसकेपछि लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार भएको थियो। बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका लागि हेलिकोप्टरबाट सियोलको अस्पतालमा लगिएको छ।

भिडियो फुटेजमा आक्रमणकारीले अटोग्राफ माग्दै लीको नजिक गएको र उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको देखिएको छ। ६० वर्षका किमको थरबाट मात्र पहिचान भएका आक्रमणकारीले डेमोक्य्राटिक पार्टीका नेतालाई मार्ने मनशाय रहेको प्रहरीलाई बताएको स्थानीय सञ्चारमाध्यमले बताएका छन्।

किमले गत वर्ष इन्टरनेटमा करिब १८ सेन्टिमिटर लामो चक्कु किनेका थिए। उनको अन्य कुनै आपराधिक रेकर्ड थिएन।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले पुलिस र सम्बन्धित अधिकारीहरूलाई छिटो सत्यतथ्य पत्ता लगाउन र लीको उपचारका लागि सहयोग गर्न हरसम्भव प्रयास गर्न आदेश दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। युनले यस्ता हिंसात्मक कार्यलाई कुनै पनि हालतमा सहन नसकिने बताए। -सिन्ह्वाको सहयोगमा न्यूज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर