रोजगारीको प्रलोभनमा कलकत्ता लगेर मिर्गौला बेच्ने गिरोहका सदस्य पक्राउ
नेपाल प्रहरीले नेपालीलाई रोजगारीको प्रलोभनमा भारतको कलकत्ता लगेर मिर्गौला झिकी बेचबिखन गर्ने गिरोहका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले नुवाकोटको बेलकोटगढी नागरपालिका-१३ घर भएका ४३ वर्षीय हरि नेपाली भनिने हरि दर्जीलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
पक्राउ परेका दर्जी २०६५ सालमा समेत मानव बेचबिखन मुद्दामा १० वर्ष सजाय भुक्तान गरेर छुटेका थिए।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीका अनुसार उनले पीडितलाई मासिक ३० हजार भारतीय रूपैयाँ तलब हुने मःमः पसलमा काममा लगाइदिने भनी कलकत्ता लगेका थिए।
उनले नुवाकोटबाट काकडभिट्टा हुँदै कलकत्ता पुर्याएपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिलाई होटलको साहुका रूपमा चिनाएर दुवैले पीडितलाई अस्पताल लगेका थिए। अस्पतालमा बेहोस बनाएर मिर्गौला झिकी अर्कैलाई प्रत्यारोपण गरेको रहस्य तब खुल्यो, जब पीडितको हातमा ६ लाख रूपैयाँ थमाइयो।
त्यसपछि उक्त कार्यमा संलग्न बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीसहित विरूद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी पर्याे र उनीहरू पक्राउ परे।
यसअघि पक्राउ परेकाहरू काठमाडौं जिल्ला अदालतको २०७९ भदौ १७ गतेको थुनछेक आदेशले हाल पुर्पक्षका लागि कारागारमा थुनामा रहेका छन्।
प्रहरीका अनुसार पीडित गाउँघरमा विवाह ब्रतबन्धमा बाजा बजाउने काम गर्थे। २०७८ वैशाखमा अभियुक्तहरूले उनलाई बाजा बजाउने बहानामा आफ्नो गाउँ बोलाए।
भेटमा अभियुक्त मुरली दमाईले ‘एक जना मानिसलाई मिर्गौला चाहिएको छ, राम्रो पैसा दिन्छ, मैले पनि एउटा मिर्गौला बेचेको छु’ भनी आफ्नो पुरानो खत देखाएर प्रलोभनमा पार्न खोजेका थिए। तर, पीडितले मिर्गौला बेच्न अस्वीकार गरे।
त्यसपछि मासिक ३० हजार भारतीय रूपैयाँ कमाइ हुने मःमः पसलमा काममा लगाइदिने भन्दै उनलाई कलकत्ता पुर्याइएको थियो।
प्रतिक्रिया