आफैं इजरायल पुगेर उद्धार गर्ने परराष्ट्रमन्त्रीको साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख बढ्यो : कांग्रेस

सत्तारूढ नेपाली कांग्रेसले परराष्ट्रमन्त्री एनपी साउद नेपाली ध्वजावाहक विमान लिएर आफैं युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगी सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको जनाएको छ।

पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तिमा परराष्ट्रमन्त्री साउदको इजरायली भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको पनि उल्लेख छ।

‘हमास-इजरायल युद्धमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउने तथा विपतमा परेका सयौं नेपाली विद्यार्थीहरूको उद्धारका लागि नेपालका परराष्ट्रमन्त्री नेपाली ध्वजावाहक विमान लिएर आफैं युद्धग्रस्त मुलुकको भूमिमा पुगेर सफताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको छ।’

कांग्रेसले पार्टीका तर्फबाट साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको पनि जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण सम्पन्न हुनु र नेपाली कामदार भएका मुलुकमा नेपाली राजदूतावास खोल्ने कार्य आफैंमा प्रशंसनीय कार्य भएको कांग्रेसको ठहर छ।

कांग्रेसले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइ गर्न र रूस-युक्रेन युद्धमा रूसी सेनामा भर्ना भई युद्धकै क्रममा निधन भएका नेपाली नागरिकको शव खोजी गरी स्वदेश ल्याउने विषयमा थप कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर