बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

तनहुँको बन्दीपुर गाउँपालिका-४, विमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुनै बेला बाँदर कुद्ने भिरमा अहिले पर्यटकहरू चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट आम्दानी पनि हुन थालेको छ ।

उक्त पहरामा वि. सं. २०६० देखि चट्टान आरोहण सुरू भएको हो । पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन् । त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन । आन्तरिक एवं बाह्य पर्यटक गरी हालसम्म एक लाखभन्दा बढीले चट्टान आरोहण गरिसकेको विमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।

यस पहरामा आरोहणका लागि एक सय रूपैयाँ शुल्क कायम गरिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरू चट्टान आरोहण गर्न यस स्थानमा पुग्ने गर्दछन् । पहरामा अठ्ठाइस वटा रूटको व्यवस्था गरिएको विमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ । एकै पटकमा अठ्ठाइस जनाले चट्टान आरोहण गर्न सक्छन् ।

‘यही पुस २० गतेदेखि नेपाली र जापानिज एक-एक टोली चट्टान आरोहणका लागि आउने भएको छ,’ उनले भने, ‘नेपाली सेना, सशस्त्र र कमाण्डो तालिम गर्नेबाहेक अन्यलाई शुल्क लिने गरिएको छ ।’ पृथ्वी राजमार्ग विस्तारका क्रममा चुनपहरा भत्काउन लागेपछि पहराको अस्तित्व संकटमा पर्ने देखिएपछि स्थानीयको पहलमा पहरा सुरक्षित गरिएको उनले बताए ।

राजमार्ग चार लेनको बनाउँदा पनि चुनपहरालाई कुनै असर नपर्ने गरी व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । मर्स्याङ्दी नदी किनारबाट पर्खाल लगाएर सडकको मापदण्ड पूरा गर्न लागिएको उनको भनाइ छ । ‘चट्टान आरोहणका लागि प्रशिक्षणस्थलसमेत रहेको यस पहरा भत्काएको खण्डमा अहिले भइरहेका साहसिक पर्यटकीय गतिविधि रोकिने हुनाले स्थानीयको पहलमा संरक्षण गरिएको हो,’ अध्यक्ष श्रेष्ठले भने ।

यस चुनपहरा बचाउ अभियानका संयोजकसमेत रहेका श्रेष्ठले स्थानीयले कुनै पनि हालतमा चुनपहरा बचाउनुपर्ने चाहना राखेर अघि बढेका कारण जोगाउन सफल भएको उनले बताए । ‘चुनपहरा हाम्रो गहना हो । यो पहरा काटियो भने यसले पर्यटनमा ठूलो असर पर्ने देखियो,’ उनले भने, ‘यस पहराले पर्यटनमा दिएको योगदान कम्तिको छैन । पहरा बचाउनको लागि भनेर केन्द्रसम्म धाएर लागेका थियौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *