मानव तस्करीमा संलग्नता देखिएर पक्राउ परेका उपसचिवलाई बीच बाटाेबाटै छाडियाे

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग साँठगाँठ देखिएका एक कर्मचारीलाई प्रहरी कार्यालय ल्याउँदाल्याउँदै बाटैबाट छाडिएको पाइएको छ। सुरुमा मंसिर २७ अघि नरवीर खड्कालाई पक्राउ गर्दा अध्यागमन कार्यालयमा कार्यरत उपसचिव राम थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर उनी खड्का हुन् कि थापा हुन् भन्ने चिन्न नसकेकै कारण छुटेको उच्च प्रहरी अधिकारीको दाबी छ। तर उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी कर्मचारी भने त्यसलाई स्विकार्दैनन्।

समातेर ल्याउँदाल्याउँदै उपसचिव थापा बाटैबाट छुटेको हुन सक्ने भन्दै आन्तरिक रूपमा सूक्ष्म अनुसन्धान भइरहेको बताइएको छ। ‘कि त हाम्रो प्रहरीले चिनेन कि त कसैको दबाब पर्‍यो, उनका बारेमा थप अनुसन्धान भइरहेको छ। ढिलोचाँडो सम्पर्कमा ल्याउनेछौं,’ प्रहरीको उच्च स्रोतले भन्यो। यो विषयले प्रहरी संगठनभित्र पनि हलचल पैदा गरेको छ।

‘उहाँ इन्जिनियर हुनुहुन्छ। भिजिट भिसाको दुरुपयोगमा उहाँको भूमिका हुँदैन भन्ने मेरो बुझाइ हो। तर संलग्न भए/नभएको बारेमा जानकारी छैन,’ उनले भने। प्रहरीले खोजिरहेको र पक्राउ पर्ने सम्भावना देखेपछि रमाना दिएर उपसचिव थापालाई दरबन्दी नभएको ठाउँ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ।

उनलाई पठाइएको ठाउँमा आइटी उपसचिवको दरबन्दी नै छैन। प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा एयरलाइन्स र अध्यागमनकै अधिकारीको संलग्नता रहेको भन्दै अध्यागमन कार्यालयमा कार्यरत अधिकृत नरवीर खड्कालगायत ३२ जनालाई पक्राउ गरेको थियो। उनीहरूमध्ये केही छुटेका छन्।

आइटी इन्जिनियरसमेत रहेका उपसचिव थापा भने गृह मन्त्रालयका एक विशिष्ट व्यक्तिको भनसुनबाट प्रहरी कस्टडीमा नपुगेको स्रोतको दाबी छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *