सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई
चौथो वरीयताका जयराम श्रेष्ठलाई हराउँदै डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्।
रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा जयराम श्रेष्ठलाई ६/४ ले हराउँदै दिनेश उपाधि रक्षा गर्न सफल भएका हुन्। यो सिजन सानदार सुरूवात गरेका दिनेशको करियरको यो दोस्रो उपाधि हो।
अनुभवी चौथो वरीयताका जयराम र तेस्रो वरीयताका दिनेशबीच १८ होलसम्म कडा प्रतिस्पर्धा चलेको थियो। नवौं होलको समाप्तिमा जयराम एक होलले अगाडि थिए। तर १८ होलको समाप्तिमा दिनेशले खेललाई बराबरीमा पुर्याए।
यसपछि भने दिनेश खेलमा हाबी बने। १९औं होलमा करिब ३० यार्डबाट दिनेशले बर्डी प्रहार गर्दै एक होलको अग्रता बनाए। २३औं होलमा जयरामले पार जोगाउन सकेनन भने दिनेशले पारमा नै यो होल जितेर दुई होलको अग्रता बनाए। खेलमा फर्कन जयरामलाई जित जरूरी थियो। तर यसपछि २४ देखि २७ होल बराबरीमा सकियो।
२८ औं होलमा पार खेल्दै तीन होलको आरामदायी अग्रता दिनेशले बनाए। दबाबमा परेका जयराम खेलमा फर्कन सकेनन् भने ३१ औं होल पनि दिनेशले नै जित्दा ५ होलको अग्रता बनाए। यसपछि ३२ औं होलमा खराब टी सट हानेसँगै जयरामले हार आत्मसात गर्दा दिनेशले ४ होल अघि नै उपाधि आफ्नो नाममा लेखाए।
दिनेशले पहिलो चरणमा तोरणविक्रम शाही, क्वार्टरफाइनलमा रवि खड्का र सेमिफाइनलमा रामे मगरलाई हराएका थिए। उपाधिसँगै दिनेशले नगद ६० हजार रूपैयाँ प्राप्त गरेका छन। दोस्रो भएका जयरामले ४२ हजार रूपैयाँ हात पारे। दिनेशले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा प्रोफेसनलतर्फ पहिलो स्थान प्राप्त गरेका थिए। जारी टुरमा दुईमध्ये दुवै प्रतियोगितामा सानदार प्रदर्शन गर्दै सिजनको सुरूवात उत्कृष्ट गरेका छन्।
सातौं वरीयताका रामे मगरले तेस्रो स्थान प्राप्त गरे। उनले १८ होलको प्रतिस्पर्धामा नवौं वरीयताका भुवन कुमार रोक्कालाई १८ औं होलमा हराए। रामेले ३२ हजार र भुवनले २४ हजार पुरस्कार हात पारे।
कुल २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार राशिको प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६/६ हजार रूपैयाँ प्राप्त गरे। क्वार्टरफाइनलमा पराजित चार खेलाडीले जनही ११ हजार प्राप्त गरे।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान, एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, आरएनजीसीका अध्यक्ष मधुकर याक्थुम्बा, आरएनजीसीका क्याप्टेन मिथुन राई र आरएनजीसीका कोषाध्यक्ष रोशन श्रेष्ठले पुरस्कार वितरण गरे।
प्रतिक्रिया