दूध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले दूध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले दूध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

पीडामा रहेका दुध किसानहरूको भुक्तानी तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति डा. आरजु राणाले जानकारी दिइन् ।

बैठकले कृषि क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराएको छ । हाल बजेटको ३ प्रतिशत मात्रै लगानी कृषि क्षेत्रमा राज्यले गरेको पाइएकाले आगामी आर्थिक वर्षमा कम्तीमा ५ प्रतिशत बजेट पुर्‍याउन सरकारको ध्यानाकर्षण गराइएको समिति सभापति राणाले बताइन् ।

कृषि क्षेत्र मुलुकको सबैभन्दा बढी प्रतिफल दिने क्षेत्र भएकाले यस क्षेत्रमा लगानी बढाउने कुरामा सरकारले कन्जुस्याइँ गर्न नहुने समितिको निष्कर्ष थियो ।

बैठकमा समितिका सदस्यहरूले कृषि क्षेत्रको उत्थानमा सरकार गम्भी्र नभएको गुनासो गरेका थिए । उनीहरूले मानव संसाधन र प्रविधिमा जोड दिएर कृषि क्षेत्रको विकास गर्न पनि सरकारलाई सुझाव दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *