अध्यक्ष ढकाल गृहजिल्लामा सम्मानित

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् ।

बागलुङ नगरपालिका-१२, अमलाचौरमा जन्मिएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आज आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । बागलुङ उद्योग वाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो ।

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले व्यावसायिक क्षेत्रमा पाएको सफलताले बागलुङको चिनारी थप विस्तार भएको भन्दै उनलाई सम्मान गरिएको हो । सामान्य परिवारमा जन्मिएका अध्यक्ष ढकालले लामो समयको अथक मेहनतपछि व्यावसायीक क्षेत्रमा सफलता प्राप्त गरेका हुन् । अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान अमूल्य रहेको उल्लेख गर्दै महोत्सव आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा अध्यक्ष ढकालसँगै बागलुङका अर्का व्यवसायी अशोक शेरचनलाई पनि सम्मान गरिएको छ । शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उनीहरू दुवै जनाले बैंकिङलगायतका क्षेत्रमा लगानी गरेका छन् । बागलुङ महोत्सवको सुरूआतदेखि अहिलेसम्मका महोत्सव सञ्चालन गर्न योगदान दिएका पूर्वअध्यक्षहरूलाई पनि सङ्घले सम्मान गरेको छ । सम्मानित हुनेहरूमा सहदेव राजभण्डारी तथा पूर्वअध्यक्षहरू क्रमशः ध्रुवराज गौतम, बसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी रहेका छन् ।

कोरोना सङ्क्रमणका कारण बागलुङ महोत्सव चार वर्षपछि आयोजना गरिएको हो । आजदेखि सुरू भएको महोत्सव यही पुस २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर