किन जाने घुम्न भेडेटार ?

सडक सञ्जालले छोएको ४० वर्षपछि धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटार पूर्वी नेपालकै एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

विसं २०४० मा धरान-धनकुटा कोशी राजमार्ग निर्माणसँगै बेलायतका राजकुमार चाल्र्स यहाँ घुम्न आएपछि भेडेटार पहिलो पटक चर्चामा आएको थियो । विसं २०६८ मा भारतका धनाढ्य राजीव गोयलको विशेष पहलमा अमेरिकी समाचार संस्था सिएनएनले भेडेटार नजिक रहेको नाम्जेको मगर गाउँलाई विश्वका घुम्नैपर्ने १२ औँ गन्तव्यको सूचीमा राखेको थियो ।

छिनछिनमा मौसम परिवर्तन हुने अनौठो यस क्षेत्रलाई विसं २०७५ मा नेपाल सरकारले पनि एक सय नयाँ गन्तव्यमा धनकुटाका तर्फबाट भेडेटार र नमस्ते झरना समावेश गरिसकेको छ । यस्तै चर्चा र प्रचारले देश तथा विदेशमा परिचित भेडेटार पछिल्लो समय पालिका, जिल्ला र अन्य जिल्ला जाने पर्यटकीय केन्द्रका रूपमा समेत विकास हुँदै गएको गाउँपालिका अध्यक्ष जितेन्द्र रूम्दाली राई बताउँछन् ।

गर्मीमा तराईको गर्मी छल्न र जाडोमा घाम ताप्न मिल्ने वातावरण रहेको चुरे पहाडमा अवस्थित भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृश्य एकैसाथ हेर्न पाइन्छ । पूर्वी तराईबाट धनकुटा जाने गौँडाका रूपमा रहेको भेडेटार भोजपुर, सङ्खुवासभा र ताप्लेजुङ जाने केन्द्रका रूपमा समेत रहेको छ । साथै रानी भन्सार विराटनगरबाट चीनको किमाथाङ्कासम्म जोड्ने तमोर करिडोर पनि यसै पालिकाको आहाले र भेडेटार भएर जाने गर्दछ ।

इलाम र मोरङको पहुँच मार्गका रुपमा रहेको चौबिसे गाउँपालिका हुँदै पाँचथर जोड्न निर्माणाधीन एक सय किलोमिटर लामो भेडेटार, रवी, राँके राजमार्गसमेत भेडेटारबाट सुरू हुन्छ । सडक सञ्जालको पहुँचसँगै यहाँ करोडौँको लगानीमा साहसिक खेलका पूर्वाधार, जनजाति पार्क, बौद्ध मन्दिर निर्माणका क्रममा रहेका छन् भने यहाँ प्रशस्त मात्रामा साना ठूला होटल बनेका छन् ।

महत्त्वपूर्ण सडक सञ्जाल, पर्यटकीयस्थल र अन्य पूर्वाधारका कारण भेडेटार तराई र पहाडका मानिसको जमघट हुने थलो बन्दै गएको अध्यक्ष राईले जानकारी दिए । समुद्री सतहबाट एक हजार चार सय २० मिटरको उचाइ रहेको भेडेटार आएर यसै वडामा रहेका ऐतिहासिक साँगुरीगढी, पाथीभरा मन्दिर, चर्चित नमस्ते झरना र नाम्जे गाउँ जान सकिन्छ । सडक सञ्जालको चौतर्फी पहुँचसँगै यहाँ रहेका धार्मिक, सांंस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय गन्तव्यका कारण भेडेटार क्षेत्रमा तरूण, ज्येष्ठ र केटाकेटीको घुइँचो लाग्ने गरेको छ ।

यस क्षेत्रको थप पर्यटन विकासका लागि पालिकाले नयाँ गन्तव्यका रुपमा खुवालुङ-भेडेटार-ध्वजे डाँडासम्मको ६० किमी लामो पदमार्ग निर्माणको काम सुरू गर्न लागेको अध्यक्ष राईले जानकारी दिए । पालिकाले एतिहासिकस्थल साँगुरीगढी, पाथीभरा र शङ्खेश्वर मन्दिर निर्माण गरेर धार्मिक पर्यटनलाई प्रवर्द्धन गरेको छ । नमस्ते झरना क्षेत्रको थप पर्यटन प्रवर्द्धन गर्न नमस्ते झरना-थुम्कीसम्म करिब तीन किलोमिटर लामो पैदल मार्ग निर्माण गरेको छ ।

यहाँको होमस्टे प्रवर्द्धनमा सहयोग गरिरहेको पालिकाले भेडेटार घुम्न आउने पर्यटकलाई लक्षित गरेर कोसेली घर निर्माणको काम पूरा गरेको छ । बजेट अभावका कारण पालिकामा भएका अन्य सबै पर्यटकीय गन्तव्यलाई आगामी दिनमा क्रमशः संरक्षण र प्रवर्द्धन गर्दै लगिने अध्यक्ष राईले बताए ।

जिल्लाको दक्षिण सुनसरीको सिमानासँगै चुरे क्षेत्रमा अवस्थित पालिकाको केन्द्रका रूपमा रहेको भेडेटारमा पूर्वी तराई र भारतको बिहारबाट आउने पर्यटकको पहिलो आकर्षण रहेको छ ।

सुनसरीको धरान बजारबाट १६ किलोमिटरको दूरीमा रहेको भेडेटारमा प्रदेश राजधानी विराटनगर र इटहरी, इनरूवालगायतका पूर्वी तराईका ठूला सहरबाट दैनिक सर्या पर्यटक ओइरिने गरेका छन् । भारतको उत्तरप्रदेश, विहारलगायत स्थानबाट समेत यहाँ निजी सवारी लिएर आउन सहज भएकाले भेडेटार र आसपासका क्षेत्र सधैं पर्यटकको चहलपहल देखिने स्थलका रूपमा विकसित भएको छ ।

भेडेटार क्षेत्रमा सञ्चालनमा रहेको दुई सयभन्दा बढी सानाठूला होटलले विभिन्न कार्यक्रम, गोष्ठी, बैठक, सेमिनार गर्न सहज बनाएको छ । यहाँका होमस्टेले सुलभ खाना र बास सेवा दिने गरेका छन् । घुमफिर गरेर थाकेपछि यहाँ आराम र खानपान गर्न होटल तथा होमस्टे सञ्चालनमा रहेकाले पनि पर्यटकको आकर्षण बढेको होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठले जानकारी दिए ।

यहाँ पूर्वी तराई र भारतबाट जाडोमा दैनिक दुई हजारभन्दा बढी र गर्मीमा सात हजारसम्म पर्यटक आउने गरेको उनले बताए । तराईमा गर्मी हुँदा चिसो वातावरणका लागि यहाँ आउने र जाडोमा तराई क्षेत्रमा हुस्सु लागेर घाम नलाग्दा भेडेटारमा घाम ताप्न पर्यटक आउने उनले आफ्नो अनुभव सुनाए ।

भेडेटारमा हाल साहासिक खेलतर्फ पर्यटकले जिपलाइन, प्याराग्लाइडिङ र तमोर नदीमा जलयात्राको आनन्द लिन सक्नेछन् भने निकट महिनामा स्काई वाक, बञ्जी जम्प लगायतको आनन्द लिन पाउनेछन् । भेडेटार स्काई वाक परियोजनाअन्तर्गत २० करोड रूपैयाँको लगानीमा भेडेटार बजार नजिक चार्ल्स प्वाइन्टमा विभिन्न साहसिक खेल पर्यटनको सुरूआत हुन लागेको छ ।

कोशी प्रदेश प्राधिकरणको अगुवाइ तथा धरान उपमहानगरपालिका र गाउँपालिकाको समन्वयनमा स्काई वाकसहित विभिन्न साहसिक खेलका लागि उक्त आयोजना सम्पन्न हुने चरणमा छ । पन्ध्र रोपनी क्षेत्रफलमा निर्माणाधीन उक्त परियोजना पूरा भएपछि भेडेटार आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास गरिएको छ । यसले वार्षिक छ लाख रूपैयाँ यहाँको आय थपिने लक्ष्य रहेको परियोजनाका निर्देशक इञ्जिनियर सञ्जीव रोकाहाले जानकारी दिए ।

पाँच रोपनी निजी र ११ रोपनी सरकारी जमिनमा सञ्चालन हुन लागेको यो आयोजना २५ वर्षका लागि भाडामा सञ्चालन गर्न लागिएको उनले जानकारी दिए। निर्माण पूरा हुने चरणमा रहेको उक्त परियोजनाअन्तर्गत स्काई वाक, बञ्जी जम्प, मेगा ट्रोल, एज वाक, चिल्ड्रेन एक्टिभिटी, जिप लाइन र स्काई साइक्लिङ खेल रहनेछन् ।

पाँचवटा तलामा रेष्टुराँ रहने स्काई टावरको सबैभन्दा माथिल्लो तलामा पर्यटकले स्काई स्विङ (पिङ) को रोमाञ्चक अनुभव पनि लिन सक्नेछन् । परियोजना सञ्चालनमा आएपछि ५० जनाले प्रत्यक्ष र करिब दुई सय जनाले अप्रत्यक्ष रोजगारी पाउने निर्देशक रोकाहाले जानकारी दिए । भेडेटारमा हाल प्याराग्लाइडिङ र जीपलाइन सञ्चालनमा रहेका छन् भने थप लगानीको जीपलाइन निर्माणको चरणमा रहेको छ ।

सेन शासनकालमा विजयपुरका लिम्बू राजा सन्यक हाङले आफ्नो राज्य सुरक्षाका लागि विसं १४२१ मा यस साँगुरीगढीको निर्माण गरेको इतिहास रहिआएको छ । जसका कारण यस गढीलाई संन्यक यक (गढी) को नामले पनि चिनिन्छ । हाङले मोरङमा शासन गर्दा आफ्नो राज्यको उत्तरी सीमा सुरक्षाका लागि साँगुरीगढी बनाएको इतिहासमा उल्लेख छ । यस स्थानबाट हिमाल, पहाड र तराइका समथर भूभाग र नागबेली सप्तकोशी नदी बगेको दृश्य देख्न पाइन्छ ।

यस स्थानको अवलोकन गर्न दैनिक पाँच सयभन्दा बढी पर्यटक पुग्ने गरेको वडाध्यक्ष दीपक मगरले जानकारी दिए । बजारको नजिक धनकुटा जाने कोशी राजमार्गको धरान-धनकुटा सडकखण्डमा पर्ने सिम्सुवा गाउँमा नमस्ते झरना रहेको छ । सदाबहार हरियाली जङ्गलको बीचमा करिब ८० मिटर उचाइ रहेको यो झरनामा दैनिक पूर्वी नेपाल र पश्चिम भारतका पर्यटकको ओइरो लाग्ने गर्दछ ।

यहाँ दैनिक दुई हजारदेखि दुई हजार पाँच सयको हाराहारीमा पर्यटकहरू आउने गरेको स्थानीय दिलीप लिम्बूले जानकारी दिए । भेडेटारबाट पाँच किलोमिटर भेडेटार-धनकुटा सडक खण्डमा रहेको यो झरनामा साहसिक खेल क्यानोइङ गर्नेहरूको आकर्षणका रूपमा रहेको छ ।

विशेष गरेर ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्षमा यहाँ साना सवारी लिएर आउने भारतीय पर्यटकको अधिक भिड लाग्ने गरेको छ । विसं २०६४ सम्म सुनसान रहेको यो स्थान अहिले पर्यटकले भरिभराउ हुने गरेको छ । झरना भएको यस स्थानबाट नाम्जे गाउँसम्म करिब तीन किलोमिटर लामो पदमार्गले यहाँको पर्यटन प्रवर्द्धनलाई थप सहयोग पुगेको छ । भेडेटार बजारबाट उत्तर-पश्चिम करिब तीन किलोमिटर चुरे पहाडमा पाथीभरा मन्दिर रहेको छ । यो मन्दिर भेडेटार आउने धार्मिक पर्यटककोे आकर्षणका रूपमा रहेको छ ।

ताप्लेजुङ जिल्लाको ठूलो पाथीभराको शाखाका रूपमा रहेको यो मन्दिरमा आफूले भाकल गरेर मनोकाङ्क्षा पूरा भएपछि कुखुराको भाले तथा बोकाको बलि दिने गरिन्छ । आधा बाटो सवारीसाधन र आधा बाटो पैदल हिँड्नुपर्ने यस मन्दिरमा दैनिक एक सय ५० भन्दा बढी धार्मिक पर्यटक पुग्ने वडा अध्यक्ष मगरले जानकारी दिए ।

त्यस्तै भेडेटारबाट एक किलोमिटर दक्षिण-पूर्वमा निर्माणाधीन भेडेटार-रवी-राँके सडक खण्डमा मगर संस्कृति र रहनसहनले प्रख्यात रहेको नाम्जे गाउँ छ । गाउँको सडक क्षेत्रमा सहरीकरण बढ्दै गए पनि नाम्जे गाउँका मगर आज पनि खेतीपाती, गोठालो, घाँस दाउरालगायतका दैनिकीमा व्यस्त देखिन्छन् ।

दुई सयभन्दा बढी सघन मगरबस्ती भएको नाम्जे गाउँले यही दिनचर्यालाई यस क्षेत्रको पर्यटन आकर्षणको आधार बनाएको छ । नाम्जेमा अहिले दैनिक एक सय ५० जनालाई सेवा दिने क्षमताको ३५ वटा मगर जातिको घरबास सेवा सञ्चालनमा रहेको छ । जसमा २५ वटा होमस्टेले सक्रिय रूपमा सेवा दिइरहेको नाम्जे थुम्की सामुदायिक होमस्टेका अध्यक्ष अनिल मगरले जानकारी दिए ।

होमस्टेमा बसेर यहाँको जीवनशैली हेर्न, गाउँमा उत्पादित अग्र्यानिक सब्जी, खानपान, पेयपदार्थ र हुर्रा नाचका लागि नाम्जेमा पर्यटकको आकर्षण रहेको छ । ‘गर्मी मौसममा नाम्जेका होटल र होमस्टे खचाखच भरिन्छन्,’ मगरले भने, ‘बस्ने ठाउँ नपुगेर पर्यटक फर्केर जाने गरेका छन् ।’

नाम्जे आउने पर्यटक यहाँ निर्मित आधुनिक होटलभन्दा होमस्टेमा बसेर जान मन पराउने मगरले जानकारी दिए । जाडोका कारण पर्यटकको कमी आएर होमस्टेमा दैनिक १५/२० जना आए पनि शुक्रबार र शनिबार भरिभराउ हुने उनले जानकारी दिए । यस गाउँमा बनाइएको मगर जातिका एक सय १३ जनाको सामूहिक समाधिस्थल (आत्मा घर) यस क्षेत्रको अर्को आकर्षण रहेको छ ।

जर्मन आर्किटेक्ट डिजाइनरले यहाँ बस्ती बस्न थालेदेखि विसं २०६५ सम्ममा देहान्त भएका मगर जातिको समाधिलाई एकत्रित गरेर ढुङ्गाबाट संयुक्त समाधि बनाएका छन् । यसका साथै कोशी प्रदेश सरकारको एक करोड ४४ लाख रूपैयाँमा निर्माणाधीन बृहत् जनजाति पार्क तथा बौद्ध गुम्बाका कारण पनि नाम्जेमा पर्यटकको आकर्षण रहेको स्थानीयवासी टङ्क भुजेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *