विदेशबाट फर्केर व्यावसायिक बाख्रापालन

फाकफोकथुम गाउँपालिका-४, इलामका पूणर्कुमार राई (दिपेन) ले छ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम-४, लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापलन व्यवसाय सञ्चालन गरे । वडा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय इलाममा विसं २०७५ मा ‘जुरीथुम्का बाख्रापालन’ फार्म दर्ता गरेर उनले व्यावसायिक बाख्रापलन गर्न थालेका हुन् ।

‘तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको सशस्त्र युद्धका लडाकु थिएँ । विसं २०५८ मा कक्षा ७ मा पढ्दापढ्दै राज्य व्यवस्था परिवर्तनका लागि भन्दै आन्दोलनमा होमिएको हुँ । विसं २०६२/६३ जनआन्दोलनपछि शान्ति प्रक्रिया भएसँगै जीवनको यात्रा पनि मोडियो’, राईले भने । विसं २०६७ मा दुबई गएर छ वर्षपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने लागेर फर्केको उनको भनाइ थियो ।

‘विसं २०७३ मा करिब १८ लाख रूपैयाँ लिएर नेपाल फर्केको थिएँ । गाउँ फर्किएपछि फाकफोकथुम-५, लुम्देस्थित फावाखोला डाँडाको यथावामा ५६ रोपनी जग्गा छ लाख रूपैयाँमा खरिद गरेपछि मेरो व्यावसायिक कृषि र पशुपालनको यात्रा सुरू भयो’, राईले भने । उनका अनुसार गाउँमै बाख्रापालन फार्म सञ्चालन गरेपछि अन्य युवाले समेत गाउँमा स्वरोजगारीका लागि योजना बनाउन थालेका छन् ।

वैदेशिक रोजगारीबाट गरिएको बचत र बैंकबाट लिएको कर्जा १० लाख रूपैयाँ गरी २० लाख रूपैयाँको लगानीमा बाख्रापालन सञ्चालनमा ल्याएको राईले जानकारी दिए । उनका अनुसार फार्ममा अहिले विभिन्न जातका सानाठूला गरी एक सय बढी बाख्रा छन् । स्थानीय तथा उन्नत जातका बाख्रासमेत थप गर्ने योजना रहेको उनले सुनाए । उनको फार्ममा बाख्रासँगै पशुतर्फ गाई र राँगा एवम् कृषितर्फ अलैँची, केरा, कफी, मेवा, लसुन, कागती खेती विस्तार गरेका छन् ।

पूर्णकुमारले गाउँमै व्यावसायिक कृषि र पशुपालनबाट लाखौँ आम्दानी गरिरहेका छन् । व्यवासाय सुरू गरेपछि उनलाई घरखर्च टार्न कुनै समस्य छैन । ‘अहिले घरखर्च टार्न कसैलाई माग्नु परेको छैन । यही व्यवसायबाट सहजरुपमा जीविकोपार्जन भइरहेको छ’, उनले भने, ‘युवा जनशक्ति विदेश पलायनसँगै गाउँघर रित्तिदैँ गएका बेला म चाहिँ स्वेदशमै पसिना बगाउने सङ्कल्पका साथ यही व्यवसायमा लागिरहेको छु ।’

राईले वैदेशिक रोजगारीबाट सिकेको सीप गाउँघरमै प्रयोग गरिरहेको बताए । फुङ्ग धुलो उड्ने सुक्खा डाँडो अहिले हरियाली भएको छ । बाख्रापालनबाट सङ्कलन भएको मलबाट डाँडामा फलफूल, तरकारी खेती र अलैँचीका बोटले हराभरा भएका छन् । उनको मेहनतबाट स्थानीय किसानसमेत उत्साहित भएका छन् ।

पूर्णकुमारले आफ्नो ५६ रोपनी जग्गा नपुगेर घाँस र चरन क्षेत्रका लागि सात सय रोपनी जग्गा भाडामा लिएको जानकारी दिए । रोजगारीका लागि विदेश जानुभन्दा गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उनको भनाइ थियो ।

उनको फार्मले प्रोत्साहनस्वरूप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमुना बाख्रा फार्म कार्यक्रमअन्तर्गत १० लाख रूपैयाँ अनुदानसमेत पाएको छ । सो अनुदानबाट आधुनिक बाख्रोको खोर निर्माण गरेको राईले बताए । उनका अनुसार बोका, माउ बाख्रा, खसी एवम् पाठापाठीका राख्ने खोर अलगअलग बनेका छन् ।

पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बाख्रापान सुरू गरेको राईको भनाइ थियो । ‘बेरोजगार युवा बिदेसिने क्रम रोक्न तथा गाउँघरमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरू गरेको हुँ’, उनले भने, ‘बैंकको कर्जा विस्तारै तिरिसक्न लागेँ । कर्जा चुक्ता गरेपछि अझ बाख्रा थप्ने योजनामा छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *