केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित हुँदैन : मन्त्री गुरूङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताएका छन्।

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरूङले सो प्रतिबद्धता आफूले संसद बैठकमा सैद्धान्तिक छलफलकै क्रममा गरिसकेको भन्दै प्रतिबद्धता नर्बिसिएको बताए।

उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले दिएका निर्देशनलाई पालना गर्ने पनि बताए।

बैठकमा बोल्दै समिति सदस्य ध्रुवबहादुर प्रधानले कुनै पनि घटनाको आरोपीलाई राजनीतिक निर्णय गरेर माफी दिने कुरा ऐनमा राख्नु नहुने भन्दै ध्यानाकर्षण गराएका थिए। सोही सन्दर्भमा बोल्दै मन्त्री गुरूङले ऐन निर्माण गर्दा त्यसप्रकारका कुराहरू नराख्ने स्पष्ट पारे।

मन्त्री गुरूङले आफूले सबै मन्त्रीहरूलाई सम्बन्धित मन्त्रालयले प्रस्तुत गर्नुपर्ने विधेयकहरूको प्राथमिकताक्रम तोकेर ७ दिनभित्र पठाउनका लागि पत्राचार गरेको पनि बताए। उनले कानुन निर्माणको सम्बन्धमा सभामुखसँग पनि छलफल गर्न लागेको जानकारी दिए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *