उद्योगीले २१ अर्ब ८८ करोड विद्युत महसुल तिर्न बाँकी, नतिर्नेको लाइन काट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइनबापत तिर्न बाँकी २१ अर्ब ८७ करोड ८५ लाख महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । तिर्न अटेर गर्ने उद्योगको लाइन काट्न उनको निर्देशन छ । ६३ उद्योगले यस्तो महसुल तिर्न बाँकी छ ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयुक्त समीक्षा बैठक गरेका थिए । जसमा उनले बक्यौता तिर्न अटेर गर्ने उद्योग र ग्राहकको लाइन काट्न प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

छलफलमा सहभागी ऊर्जामन्त्री तथा प्राधिकरणका अध्यक्ष शक्ति बस्नेतले पनि प्रधानमन्त्रीबाट बक्यौता महसुल उठाउने र असुल नभए लाइन काट्ने निर्देशन आएको बताए । सोहीअनुसार प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

‘प्राधिकरणको बोर्डले यसअघि ०७८ माघमै डेडिकेटेड फिडर र ट्रंक लाइनअन्तर्गतको सबै महसुल उठाउने निर्णय गरिसकेको छ । अहिले प्रधानमन्त्रीबाट पनि बक्यौता उठाउनु, असुल नभए लाइन काट्नु भनेर निर्देशन आएको छ,’ मन्त्री बस्नेतले भने, ‘अब आवश्यक तयारी गरेर महसुल असुल गर्ने प्रक्रिया अघि बढाउँछौँ । प्राधिकरणको यसअघिकै निर्णयअनुसार महसुल असुल गर्ने योजना छ ।’ डेडिकेटेड फिडर र ट्रंक लाइनसम्बन्धी विवाद लामो समयदेखि समाधान हुन नसकेपछि प्राधिकरणले गत १७ भदौमा सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र बक्यौता तिर्न ताकेता गर्दै लाइन काट्ने चेतावनी दिएको थियो । तर, म्याद नसकिँदै उद्योगीले सरकारलाई गुहारेपछि प्राधिकरण तत्कालका लागि लाइन काट्नबाट रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *