धर्मनिरपेक्ष राष्ट्रमा सबै फूल बराबर हुन्, अस्वीकार गर्ने देशद्रोही नै हुन् : मन्त्री किराती

‘मैले आत्मलोचना गर्नपर्ने अवस्था छैन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मलोचना गर्नपर्ने अवस्था नरहेको बताएका छन्।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री किरातीले बुधबार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण अहिले आलोचना भइरहेको छ।

बिहीबारको समितिको बैठकमा सांसदहरूले पनि मन्त्री किरातीसँग जिज्ञासा राखेपछि उनको सो जवाफ आएको हो।

धर्मनिरपेक्षता राष्ट्रमा सबै फूलहरू, धर्म संस्कृतिकहरू एकै फूलबारीमा फुलेको फूल भएको र फूलबारीका कुनै पनि फूल अस्वीकार गर्नेहरू संविधानविरोधी भएको टिप्पणी गरे।

उनले सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै एक धर्मले अर्को धर्मलाई नस्विकार्नु संविधानविरोधी हुनु भएकाे र संविधान नमान्नेहरू देशद्रोही नै रहेकाे बताए।

उनले आफूले सो कार्यक्रममा सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिक्ष्स कसैले गर्न नहुने बताएको जानकारी गराए।

उनले लोकतन्त्रमा सडकमा लट्ठी घुमाउन पाइने तर अर्काको नाकमा हिर्काउन नपाइने बताए। संविधानलाई मानेर निर्वाचन जितेर आएका सांसदहरूले संविधानसम्मत प्रश्न गर्नुपर्ने उनको भनाइ थियो।

‘माफी माग्ने, राजीनामाको कुरा पनि छ यतिबेला मेरो। हिजो म एउटा कार्यक्रममा गएको थिएँ। त्यो कार्यक्रममा मैले बोलेको कुरा के हो भने संविधानको भावनाअनुसार हामी चल्नुपर्छ,’ मन्त्री किरातीले भने,‘हाम्रो सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिस कसैले गर्नु हुँदैन, धर्मनिरपेक्ष राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृतिकहरू, फूलबारीमा फुलेको फूलजस्तै हुन्। जसले यो फूल अस्वीकार गर्छ, त्यो शब्दमै भन्दा देशद्रोही भनेको छु। संविधान नमान्ने देशद्रोही त हो।’

मन्त्री किरातीले संविधान मानिसकेपछि संविधानको लयमा बस्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *