निर्देशन दिँदैमा सकियो सरकारको एक वर्ष, नीतिगत कार्यक्रम कागजमै सीमित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्राथमिकतामा राखेका नीतिगत तथा न्युनतम साझा कार्यक्रम कागजमा सिमित भएका छन्।

वर्तमान प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित पाँच दलीय गठबन्धन सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रले २०७९ पुस २५ मा सार्वजनिक गरेको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा उल्लेखित कुनै पनि शीर्षकमा सरकार सचेत देखिएको छैन।

सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउनेतर्फ सरकारको प्रयत्न नदेखिएको मात्रै होइन, सरकारी सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने नीति समेत कार्यन्वायन हुन सकेको छैन।

त्यस्तै तोकिएको समयमा सरकारी सेवा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने सरकारको योजना कागजमै सिमित छ। स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउने नीति लिएको सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन।

भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारमा मुछिएका जो कोहीलाई कानुनी कारबाही अगाडि बढाउने प्रतिवद्धता पनि कार्यान्वयन गर्न नसकेको भन्दै प्रचण्ड नेतृत्वको कडा आलोचना भइरहेको छ।

वर्तमान सरकाले जनताका पक्षमा कुनै काम गर्न नसकेको टिप्पणी गर्दै एमाले नेता विशाल भट्टराईले भने–‘सुशासन र समृद्धिको दुहाइ दिएको यो सरकार जनताका पक्षमा रहेन । सरकारका एक वर्षे क्रियाकलापले सरकार भ्रष्टाचारी र तस्करहरुको संरक्षक जस्तो मात्रै देखियो ।’

एमालेसँगको गठबन्धन त्यागेर कांग्रेससँगको पुरानो गठबनधन ब्युँताउनु अघि नै प्रचण्ड सरकारले संविधानका प्रबन्धहरूलाई कार्यान्वयन गर्दै सबैलाई अधिकार, समान पहुँच, अवसर, सामाजिक न्याय, सुरक्षा तथा सम्मानको ग्यारेण्टी, युवा तथा रोगजारी, निशुल्क स्वास्थ्य, शिक्षा, आर्थिक सुधार,औधोगीकरणलगायतका विषयलाई प्रथमिकतामा राख्दै २१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्ने, राष्ट्रिय पुँजीको विकास गर्ने र मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने भन्दै दिएको ‘मेक इन नेपाल’ को नारा कागजमै मात्रै सिमित भएको छ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर