मार्कण्डेय पुराणमा महाभारतको प्रसंग

द्रौपदीका पाँच पति किन भए ?

महाभारतको प्रसङ्गले एउटा कुरामा ध्यान जान्छ- पुराणहरूभन्दा पहिले महाभारतको रचना भयो होला कि पुराणहरूको? पुराणहरूमा जब जय नामको इतिहासको कुरा आउँछ, जुन जयलाई पछि महाभारतको कथाको रुपमा लिइएको छ। अहिलेसम्म प्राप्त, मननीय, संग्रहणीय र पठनीय सामग्रीको श्रेणीमा श्रीकृष्ण द्वैपायन व्यासले रचना गरेका महाभारत(१८ पर्व), पुराण( १८ महापुराण र १८ उपपुराण) र चारओटा वेदहरू( ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद)को आधुनिक तरिकाले व्यवस्थापन गरेको पाइन्छ। महर्षि व्यासले आफ्ना छोरा शुकदेवबाहेकका चारओटा शिष्यहरू ऋषि पैललाई ऋग्वेदको, ऋषि जैमिनिलाई सामवेदको, ऋषि वैशम्पायनलाई यजुर्वेदको र ऋषि सुमन्तुलाई अथर्ववेदको प्रचार, प्रसार र गूढार्थहरूको व्याख्या गर्ने जिम्मा दिएका थिए। अनि रचना गरिएका महापुराणहरूको क्रममा श्रीमद्भागवतसहित अठार पुराणहरू विभिन्न नाममा छन् र संसार प्रसिद्ध श्रीमद्भगवद्गीता महाभारतभित्रकै भीष्मपर्वको एउटा भाग हो। त्यसैलाई धेरै शताब्दीदेखि गीताको नाममा पढिन्छ, व्याख्या गरिन्छ र वहुअर्थी रहस्यमय जीवन दर्शनका रुपमा लिइएको छ। गीतामा वेद, उपनिषद् र पुराणका खास अर्थ र मर्म समेटिएको छ भन्ने पौरस्त्य साहित्यका मर्मज्ञ र समीक्षकहरूको धारणा छ।

पहिले वेदत्रयी भनिन्थ्यो तर ब्रह्माका चारैमुखले वेद वाचन गरेको मान्दा चारैवेदको रुपमा मानिन थालेको हो। वेद कसैले रचना नगरिएको स्वतः पृथ्वी, अन्तरिक्ष र ब्रह्माण्डको हितका लागि प्रकृतिमा गुञ्जिएको मानिन्छ। त्यसैले सृष्टिको आदिकालमा नै मानव जातिको हितका लागि वेदको स्वतः रचना भएको हो भनिन्छ।

व्यास प्रणालीका अट्ठाइसौँ व्यास पराशर पुत्र पाराशर श्रीकृष्ण द्वैपायन हुन्। उनै व्यासले पहिले जय नामको इतिहास तयार गरेपछि (तर आज त्यसलाई अहिलेसम्मको बृहद् महाकाव्यको रुपमा मानिन्छ) तर पहिले पुराणको रचना गरे कि जय नामक कुरुवंशी इतिहासको रचना गरे भन्ने विवादचाहिँ यथावत् नै छ। यसको निवारण गर्ने उपाय भनेको पुराणहरूमा आउने महाभारतको प्रसङ्गले गर्दा सुरुमा तयार गरिएको चाहिँ जय नामक इतिहास नै हुनुपर्छ जसलाई पछि भारतवर्षको युद्धको कथाको रुपमा मानियो महाभारत।

चर्चा महाभारतको भए पनि प्रसङ्ग पुराणबाट सुरु गरौँ। अष्ट चिरञ्जीवीमध्ये मार्कण्डेय ऋषिको नाम प्रख्यात छ जसले धर्मराजलाई समेत गलत निर्णयका लागि श्राप दिएका थिए भनिन्छ। तिनै ऋषिले भनेको भनेर तयार गरिएको पुराण जसका मुख्य वक्ताको रुपमा मृकण्ड ऋषिका छोरा मार्कण्डेय छन्, त्यही हो मार्कण्डेय महापुराण। त्यसो त पुराणैपिच्छे अठार पुराणहरूको क्रम र नाम फरक फरक पाइँदो रहेछ। तर पुराणको संख्याचाहिँ अठार नै छन्। केही पुराणहरूको नामको सट्टा अरु पुराणहरूको नाम देखिन्छ जुन उपपुराणहरूको रुपमा गणना गरिएको पाइन्छ। कति पुराणका त्यही नाममा उपपुराण पनि पाइँदो रहेछ। व्यासका रचनाका सन्दर्भमा भनिएको छ-

अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्।

परोपकार पुण्याय पापाय परपीडनम्।।

यसबाट पनि पुराणहरूको संख्या अठार नै बुझिन्छ। विष्णु पुराण र श्रीमद्भागवत पुराणका अनुसार अठार पुराणहरूका नाम यस प्रकार मानिँदो रहेछ- ब्रह्म, पद्म, विष्णु, शिव, भागवत, नारद, मार्कण्डेय, अग्नि, भविष्य, ब्रह्मवैवर्त, लिङ्ग,वराह, स्कन्द, वामन, कूर्म, मत्स्य, गरुड र ब्रह्माण्ड। पुराणहरूको विवरण दिने पुराणहरूमा कुनैमा शिव पुराण छ भने कुनैमा वायु पुराणलाई सट्टामा राखिएको पाइन्छ। कुनै ठाउँमा नारद पुराणलाई उपपुराणका रुपमा पनि राखिएको पाइन्छ। शास्त्रसम्मतरुपमा १८ महापुराण र १८ उपपुराण हुन्छन्। १८ पुराणहरूको श्लोक संख्या ४ लाख मानिएको छ जसमा स्कन्द पुराणमा मात्र ८१ हजार श्लोक छन्। गणनामा मार्कण्डेय पुराणका श्लोक संख्या ९ हजारमात्र मानिएको छ। त्यसले के स्पष्ट पार्छ भने अठार पुराणमध्ये सबैभन्दा ठुलो स्कन्द पुराण हो भने श्लोकका संख्याका कारणले सबैभन्दा सानोचाहिँ मार्कण्डेय पुराण मान्नुपर्ने हुन्छ।

महर्षि जैमिनिले सोध्न थाले- हुन त मसहितका साथीहरूले व्यासबाट महाभारत कथा सुनेका हौँ तर केही जिज्ञासाहरू भने अझैँ समाधान नभएकाले म आएको हुँ। कृष्ण आफैँ सर्वव्यापी ईश्वर भएर पनि किन मानिसका रुपमा यो पृथ्वीमा आएका हुन् ? द्रौपदी कसरी पाँच पाण्डवकी साझा रानी बन्न पुगिन्? बलदेवलाई लागेको ब्रह्महत्याको पाप कसरी पापमोचन भयो? द्रौपदीका महारथी पाँच छोराहरू जसका अभिभावकका रुपमा स्वयं पाण्डवहरू थिए भने कसरी अनाथजस्तै भएर युवावस्थामा अविवाहित नै मारिए?  महाभारतसम्बन्धी यी सन्देहहरू मसँग बाँकी रहेका छन्, कृपया मेरा जिज्ञासा शान्त पार्न अनुरोध गर्दछु। अनि म खुसीसँग सुखी हुँदै आश्रममा जाने थिएँ।

 

व्यासबाटै जय नामक महाभारतको कथा सुन्ने जैमिनिलाई पनि केही कुरामा सन्देह पैदा भएकाले व्याससमक्ष गए र गुरुलाई केही जिज्ञासा स्पष्ट गर्न अनुरोध गरे। तर गुरुले मार्कण्डेय ऋषिसँग सोधेर जिज्ञासा समाधान गर्नका लागि अह्राए पछि ऋषि जैमिनि मार्कण्डेय ऋषिको आश्रममा गए। मार्कण्डेय ऋषिले पनि आफू सन्ध्याका लागि तयार भएकाले विन्ध्य पर्वतको हिमाली कन्दरामा गएर त्यहाँ रहेका द्रोण नामक ब्राह्मणका छोराहरू पिंगाक्ष, विवोध, सुपुत्र र सुमुखले तिम्रा जिज्ञासाको समाधान गर्ने छन्। त्यति भनेपछि महर्षि जैमिनि विन्ध्य पर्वतको कन्दरा खोज्दै पुगेछन् र त्यहाँ वेदोच्चारणसहित यज्ञ चलिरहेको रहेछ। अनि ती साधु पक्षीहरू भएका ठाउँमा जैमिनि पुगेर आफूलाई मार्कण्डेय ऋषिले समस्याको समाधानका लागि पठाएको भनेछन्। अनि ती खगश्रेष्ठहरूले भनेछन्, हामीले पो के त्यस्तो जानेका हौँला र ?  तैपनि आफूले जानेका कुराहरू महर्षिसमक्ष विन्ति बिसाउने छौँ। अनि महर्षि जैमिनिले सोध्न थाले- हुन त मसहितका साथीहरूले व्यासबाट महाभारत कथा सुनेका हौँ तर केही जिज्ञासाहरू भने अझैँ समाधान नभएकाले म आएको हुँ। कृष्ण आफैँ सर्वव्यापी ईश्वर भएर पनि किन मानिसका रुपमा यो पृथ्वीमा आएका हुन् ? द्रौपदी कसरी पाँच पाण्डवकी साझा रानी बन्न पुगिन्? बलदेवलाई लागेको ब्रह्महत्याको पाप कसरी पापमोचन भयो? द्रौपदीका महारथी पाँच छोराहरू जसका अभिभावकका रुपमा स्वयं पाण्डवहरू थिए भने कसरी अनाथजस्तै भएर युवावस्थामा अविवाहित नै मारिए?  महाभारतसम्बन्धी यी सन्देहहरू मसँग बाँकी रहेका छन्, कृपया मेरा जिज्ञासा शान्त पार्न अनुरोध गर्दछु। अनि म खुसीसँग सुखी हुँदै आश्रममा जाने थिएँ।

व्यास शिष्य जैमिनिका सन्देह सुनेपछि पंक्षीहरूले उत्तर दिन थाले- वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्धका रुपमा चारमूर्ति धारणा गरेर धर्म विनाशका लागि उद्यत असुरगणको संहारका लागि नारायणस्वरुपबाट अवतरित हुनुभएको हो श्रीकृष्ण। तिनै मूर्तिहरू कुनै बेलामा वराहको रुपमा, कुनै बेलामा नरसिंहको रुपमा, कुनै बेलामा कूर्मका रुपमा, कुनै बेलामा मत्स्यका रुपमा यो पृथ्वीमा अवतरण गरेर पृथ्वी र धर्मको रक्षा गर्नु भएको थियो। अहिले त्यो अवतारको रुप माथुरमूर्ति श्रीकृष्ण हुनुहुन्छ। श्रीकृष्णको रक्षामा अहिले प्रद्युम्न मूर्ति रहेको छ। उनै देवाधिदेव मनुष्यत्व, देवत्व वा अन्य तिर्यक योनिमा जन्मेर भए पनि वासुदेवको इच्छानुसार काम गर्ने हुन्। यसरी धर्मको रक्षाका लागि मनुष्यको रुपमा श्रीकृष्णको अवतार यो संसारमा भएको हो।

अर्को सन्देहको पनि निराकरण गर्नुहोस् ऋषिश्रेष्ठ जैमिनि, त्वष्टा ऋषिका छोरा त्रिशिर तपस्या गरिरहेका थिए, इन्द्रले उनको तपस्याबाट आत्तिएर उनको हत्या गरे। इन्द्रलाई ब्रह्महत्याको दोष लाग्यो। पछि इन्द्रसँग बदला लिनका लागि त्वष्टा ऋषिले आफ्नो केशलाई आगोमा जलाएर निस्किएको अद्भूत क्षमताको पुत्र वृत्रको पनि हत्या गरेपछि इन्द्रलाई ब्रह्महत्याको कारणले इन्द्रसँग रहेका तेज तथा दैवी क्षमताहरू ह्रास हुन थाले। यसरी इन्द्रको तेजमध्येको एउटा तेजलाई धर्मराजले कुन्तीको शरीरमा प्रवेश गराए र युधिष्ठिरको जन्म भएको थियो। वायु देवतासँग संग्रहित इन्द्रको तेज र शक्तिलाई पवन देवले कुन्तीको गर्भमा निक्षेप गरे। इन्द्रले आफूसँग बाँकी रहेको शक्ति र क्षमताको आधा भाग कुन्तीमा प्रवेश गराएर अर्जुनको जन्म भयो। इन्द्रको लावण्यमयी शक्तिको अंश लिएर हिँडेका अश्विनीकुमारहरूबाट माद्रीको गर्भमा निक्षेप गराई नकुल तथा सहदेव जुम्ल्याहाका रुपमा जन्मिए। यसरी पाण्डुका पाँचैओटा पुत्रहरूमा इन्द्रका अंशहरूको सञ्चिति भए पनि इन्द्रको स्थायी पत्नीका रुपमा विधाताबाट खटिएकी शचिले पनि द्रौपदीका रुपमा यज्ञबाट आफूलाई पृथ्वीमा अवतरित गराइन्। इन्द्रको ब्रह्महत्याको पाप बिस्तारै समाप्त हुँदै गयो र पनि विधाताको लेखाबमोजिम पाञ्चाल राजकुमारी इन्द्रका अंशहरूसँग विवाहित भइन्।

हलधर बलराम तीर्थ यात्राका लागि रेवतीसँग हिँडेका बेलामा उनले व्यासासनमा बसेका ऋषि सूतजीले आफ्नो स्थानबाट नउठी अपमान गरेको ठानी हत्या गरेपछि उनलाई ब्रह्महत्याको दोष लाग्यो। सोमरसको मातमा गरेको अपराधले सोमरसले छोडेपछि सताउन थाल्यो र उनी तीर्थहरू सबै घुम्दै अन्त्यमा प्रतिलोमा सरस्वतीको आराधना गर्दै प्रायश्चित गरेपछि उनको ब्रह्महत्याको पाप पनि पखालियो। वास्तवमा उनी पाण्डव र कौरवको युद्ध हुन लागेकाले कसको पक्षमा लाग्ने हो भन्ने निश्चय गर्न नसकेपछि पलायन भएका हुन्।

हलधर बलराम तीर्थ यात्राका लागि रेवतीसँग हिँडेका बेलामा उनले व्यासासनमा बसेका ऋषि सूतजीले आफ्नो स्थानबाट नउठी अपमान गरेको ठानी हत्या गरेपछि उनलाई ब्रह्महत्याको दोष लाग्यो। सोमरसको मातमा गरेको अपराधले सोमरसले छोडेपछि सताउन थाल्यो र उनी तीर्थहरू सबै घुम्दै अन्त्यमा प्रतिलोमा सरस्वतीको आराधना गर्दै प्रायश्चित गरेपछि उनको ब्रह्महत्याको पाप पनि पखालियो। वास्तवमा उनी पाण्डव र कौरवको युद्ध हुन लागेकाले कसको पक्षमा लाग्ने हो भन्ने निश्चय गर्न नसकेपछि पलायन भएका हुन्। एकातिर दुर्योधन सम्धी पनि परेको र प्रिय शिष्य पनि रहेको, पाण्डवहरू फुपुकै छोराहरू अनि अर्जुनले बहिनी सुभद्रा नै विवाह गरेकाले उनले आफूलाई तटस्थ राख्नका लागि तीर्थयात्राको बहानामा जाँदा सूतजीको हत्या हुन गयो सोमरसको सुरमा र अपमानको झोकमा। व्यासासनको पण्डितले उठेर अभिवादन गर्न नमिल्ने त्यो बेलाको शिष्टतालाई वलरामले नटेरेकै हुन्। र पनि सूतजीको हत्यापछि उनमा अपशोच पैदा भएकाले तीर्थाटनमा गएका थिए पाप पखाल्नका लागि।

पंक्षीहरू भन्छन्, हे जैमिनी ऋषि, द्रौपदीका छोराहरूको पनि पूर्व कथा सुन्नुहोस् उनीहरू किन युवावस्थामा नै मारिए जवकि उनीहरू सबै नै महारथी थिए बाबुहरू जस्तै र साथमा अभिभावकका रुपमा महारथी पाण्डव तथा स्वयं कृष्ण थिए उनीहरूको पक्षमा तर उनीहरू मारिएको कारण छ। उनीहरू पूर्वजन्ममा देवलोकका पाँचजना लोकपाल विश्वदेवाहरू थिए। कुरो विश्वामित्र ऋषिले राजा हरिश्चन्द्रलाई निर्मम तरिकाले दण्डित गरेको देखेर लोकपालहरूले सहन सकेनन्। उनीहरूले आपसमा कुरा गर्दा विश्वामित्रले सुन्ने गरी भने- हे पापात्मा, दुष्टात्मा विश्वामित्र, शुद्ध वेदोच्चारणद्वारा यज्ञ गर्दै हवन गर्ने सत्यवादी, धर्मात्मा दानवीर राजा हरिश्चन्द्रले यदि यज्ञ लगाएनन् भने देवताहरूले, हामीले यज्ञको भाग र सोमरस कसरी खान पाउँछौँ ? पाप किन गरेको ? यसरी किन सताएको विनकारण राजा हरिश्चन्द्रलाई ? यो सु्नेपछि तत्कालै विश्वामित्र रिसाउँदै लोकपाल विश्वदेवाहरूलाई श्राप दिए- तिमीहरू तत्कालै मनुष्य योनिमा जन्मनु परोस्। लोकपालहरूले ऋषिसँग क्षमा मागे र श्राप नलाग्ने गरी माफी दिन अनुरोध गरे। अनि उनीहरूले गरेको प्रार्थनाबाट खुसी भएर राजर्षि विश्वामित्रले श्रापलाई घटाए र भने- मेरो श्राप त बेकार जाँदैन, बरु तिमीहरू पृथ्वी लोकमा धेरै बस्नु पर्नेछैन। युवावस्थामा, अविवाहित हुँदै स्वर्गमा आउन पाउने छौ। अनि पाण्डवको सहयोग हुँदाहुँदै पनि पाँच महारथी राजकुमारहरू युवावस्थामा नै मारिए र लोकपालको रुपमा फिर्ता भएका थिए।

जैमिनि ऋषि पंक्षी पण्डितहरूको जबाफबाट खुसी भए। तर ती पंक्षीहरू कसरी उत्पन्न भए र ऋषि द्रोणका सन्तान भए अनि कसरी यसरी विद्वान भए भन्ने कुरा मार्केण्डय पुराणका आधारमा अर्को अङ्कमा प्रस्तुत गरिने छ। मार्कण्डेय पुराण नेपालमा यसकारणले प्रसिद्ध छ कि दसैँमा जमरा राख्नेहरू चण्डी पाठ गर्ने गर्छन् सप्तशती चण्डी। देवी माहात्म्य, त्यो माहात्म्य यही पुराणबाट निकालेर भनिएको हो। त्यसैले प्रत्येक अध्यायका अन्तिममा भनिएको हुन्छ, इति मार्कण्डेय पुराणे …।

स्राेत : हरिविनोद अधिकारी/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

One thought on “द्रौपदीका पाँच पति किन भए ?

  1. पौराणिक ज्ञानमुलुक जानकारीकालागि धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *